२ फागुन, काठमाडौं । तत्कालीन नेकपा माओवादीले नेपालमा सशस्त्र युद्ध थालेको २५ वर्ष पुगेको छ । यहि अवसरमा हिजो काठमाडौंसहित देशैभर विभिन्न कार्यक्रम भए ।

फाइल फाेटाे ।

काठमाडौंको एउटा कार्यक्रममा तत्कालीन माओवादीका सुप्रिमो कमाण्डर एवं हाल सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसको अवसरमा दिएको सार्वजनिक अभिव्यक्ति विवादित बनिरहेको छ ।

उनले आफूलाई जनयुद्धका बेला ठूलठूला आक्रमणका लागि तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आग्रह गर्ने गरेको बताए ।

के भनेका थिए प्रचण्डले ?

‘दुईवटा हाम्रो कम्युनिष्ट पार्टीको पहिला सहमति भएर हस्ताक्षर भइनै सकेको थियो। हामी मिलेर अब संविधान सभातिर जाने भन्ने विषयमा नेपाली कांग्रेससँग पनि राखेर त्यही प्रकृयाबाट १२ बुँदे समझदारी भयो र नेपाली कांग्रेसको तत्कालिन नेता गिरिजाप्रसाद कोइराला र मेरो बीचमा झण्डै लगातार जस्तो दिनदिनै जस्तो फोनमा कुरा हुन्थ्यो र उहाँले अझै आक्रमण बढाउनुपर्यो भन्नुहुन्थ्यो ।

मलाई फौजी आक्रमण अझ बढाइदिनुपर्याे भन्नुहुन्थ्यो । अलि सदरमुकाम हान्न पर्योे, अलि ठूलोठूलो आक्रमण गर्नुपर्यो भन्नुहुन्थ्यो यो पनि विचित्र हा । यस्तो संसारमा कमै हुन्छ यही विचित्रको परिस्थितिले नै नेपालमा साढे २ सय वर्ष पुरानो शाहवंशीय राजतन्त्रको अवसान गर्ने वातावरण बन्यो र देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्यो । यही विचार प्रवृत्ति हावी भएकै हुनाले एकता सम्भव भयो ।’

कमल थापाको प्रश्न

प्रचण्डको यो अभिव्यक्तिपछि राजनीतिक वृत्तमा नयाँ तरङ्ग ल्याएको छ । उनको अभिव्यक्तिपछि राप्रपाका अध्यक्ष कमल थापाले प्रचण्डको अभिव्यक्तिबारे काँग्रेसको धारणा माग गर्दै ट्वीट गरे ।

‘माओवादीलाई फौजी आक्रमण अझै बढाइदिन गिरिजाप्रसादले आग्रह गरेको भन्ने प्रचण्डको भनाइबारे काँग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ । के गिरिजाप्रसाद तत्कालीन आतंककारीको मतियार थिए ? प्रचण्डको पछिल्लो खुलासाले बाह्यशक्तिको मतियार माओवादी र माओवादीको हतियार काँग्रेस भन्ने स्पष्ट हुन्छ ।’

काँग्रेसको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनायो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक प्रेस वक्तब्य जारी गर्दै गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।

‘माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ ।’ विज्ञप्तिमा भनिएको छ ।

‘यदि कोईरालाले प्रचण्डलाई साँच्चै त्यसो भनेको भए उहाँ जिउँदो छँदै पक्कै सार्वजनिक गर्नुहुन्थ्यो’ भन्दै काँग्रेसले दुख व्यक्त गरेको छ । ‘तर उनको निधन भएको यतिका वर्षपछि ऐतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेबार नेताबाट गैर जिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ ।’ विज्ञप्तिमा भनिएको छ ।

बाबुरामले खोले यथार्थ

प्रचण्डको अभिव्यक्तिलाई लिएर विभिन्न कोणबाट टिप्पणी भइरहेका बेला उनका तत्कालीन सहयात्री डाक्टर बाबुराम भट्टराई पनि यसमा जोडिए । उनले स्व गिरिजाप्रसाद कोईरालाले तत्कालीन अवस्थामा फौजी आक्रमणका विषयमा के भनेका थिए भन्ने खुलस्त पारे ट्वीटरमार्फत् ।

‘ठाउँ हेरेर त्यहीँको भाकामा गाउने र बढाइचढाइ ढंगले विषय प्रस्तुत गरेर तरंग ल्याउने प्रचण्डको जानेमानेको शैली हो । जहाँसम्म गिरिजाबाबुको प्रसङ्ग छ, त्यो सधैं हैन तर २०६२ मंसिरमा १२ बुँदे सहमति भएपछि ज्ञानेन्द्रले माघमा नगरपालिकाको चुनाव घोषणा गरेका बेला त्यसलाई बिथोल्न आग्रह गर्नुभएको हो ।’