१४ भदौ, काठमाडौं । गीतकार संघ नेपालले विसं २०७३ को राष्ट्रिय स्रष्टा सम्मान गीतकार राजेन्द्र थापालाई प्रदान गरेको छ ।

संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘वर्ष गीत पुरस्कार’ गीतकारद्वय नृपध्वज खड्का र सुवास संगम राईलाई प्रदान गरिएको छ । उनहरुलाई जनही रु २५ हजार ५०० र सम्मानपत्र दिइयो । एक जनालाई प्रदान गरिने रु ५१ हजार राशिको उक्त पुरस्कार छनोट समितिले दुई जनाको नाम छनोट गरेपछि बाँडिएको हो ।

यस्तै ‘प्रवास–डायस्पोरा स्रष्टा पुरस्कार’ गीतकार जानुका राईलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु ११ हजार र प्रमाणपत्र छ । छनोट समितिमा गीतकार रमेश पौडेल र भावेश भुमरी रहेका थिए ।

संघद्वारा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले रु एक लाख १००, सम्मानपत्र र दोसल्लाद्वारा थापालाई सम्मान गरेका थिए ।