३० जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा जथाभावी बाटो काट्ने पैदल यात्रुसँग ट्राफिक प्रहरीले आजदेखि जरिवाना नलिने भएको छ ।

जनस्तरबाट ब्यापक विरोध र गृह मन्त्रालयको निर्देशनपछि ट्राफिक प्रहरीले आज दिउँसोदेखि जरिवाना असुल्न बन्द गरेको हो । पैदल यात्रुमा चेतनाको स्तर बढेको र अब चेतनामूलक कार्यक्रममा जोड दिइनेगरी जरिवाना असुल्न बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले जानकारी दिए ।

सरकारको निर्देशन पनि हो र केही सुधार पनि आएको छ, मल्लले नेपाली हेडलाइन्ससँग भने, अब हामी चेतनामुलक कार्यक्रममा बढी जोड दिन्छौं । यातायात व्यवस्था ऐन अनुसार ट्राफिक प्रहरीले गएको जेठ १ गते देखि जेब्रा क्रसबाहेक जथाभावी बाटो काट्ने पैदल यात्रुसँग दुई सय रुपैयाँ जरिवाना असुल गर्दै आएको थियो ।

एक महिनाको अवधिमा झण्डै २० हजार पैदल यात्रु कारवाहीमा परेको प्रहरी उपरीक्षक मल्लले बताए । १० हजारको हाराहारीसँग जरिवाना लिइयो, बाँकी झण्डै १० हजारलाई नियन्त्रणमा लिएर सचेत गराएर छाडियो , मल्लले भने ।

ट्राफिक प्रहरीले अभियानकै रुपमा पैदल यात्रुलाई कारवाही अघि बढाएपछि जनस्तरबाट ब्यापक आलोचना भएको थियो ।