६ माघ, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा परिरहेको हिउँ अब बिस्तारै पग्लिरहेको छ । पछिल्लो ६० वर्षमा दुई हिमनदी (रोङ्गबुक र खुम्बु)मा रहेको २ सय ६० फिट हिउँ पग्लिएको छ ।

यस्तै इमाजा नामक हिमनदीमा पनि ३ सय फिट हिउँ पग्लिसकेको छ । पर्यावरणविदहरुले यसलाई एकदमै खतरनाक भन्नै आएका छन् । यदि यहि हिसाबले हिउँ पग्लिरहने हो भने अबको १ सय वर्षमा सगरमाथामा हिउँ नदेखिने उनीहरुको तर्क छ । एक अमेरिकी जासुसी स्याटेलाइटमार्फत कैयौँ दशकअघिदेखि लिइएको तस्बिरका आधारमा यो विश्लेषण गरिएको हो ।

उक्त स्याटेलाइटले १९६२ देखि २०१८ सम्म लगभग ८ लाख भन्दा बढी तस्बिरहरु खिचिएको थियो । यी तस्बिरहरुको अध्ययनपछि सगरमाथा आसपास हिउँ एकदमै छिटो पग्लिरहेको छ । यसबारेमा तयार पारिएको एक रिपोर्ट अमेरिकन जियोग्राफिकल युनियनको वार्षिक उत्सवमा पनि राखिएको थियो ।

१९५० को दशकमा अमेरिकी जासुसी अधिकारीहरुले आकाशबाट पुरै सोभियत संघलाई निहालिरहेका थिए । त्यही समयमा एउटा कोरोना नाम गरेको गोप्य स्यालेटाइट लन्च गरियो । १९६० मा लन्च गरिएको उक्त स्याटेलाइटले १९७२ सम्म काम गरेको थियो । त्यही क्रममा अमेरिकी जासुसी संस्था सीआईए, अमेरिकी वायुसेना र केही निजी कम्पनीहरुले पूर्व युरोप र एशियाका तस्बिरहरु लिएका थिए ।

१९९५ सम्म अमेरिकाको यो मिसन एकदमै गोप्य थियो । तर त्यसपछि तस्बिरहरु सार्वजनिक गर्न थालियो । त्यसपछि मात्र कोरोनो स्याटेलाइट र त्यसपछि पठाइएको स्याटेलाइटहरुले ८ लाखभन्दा बढी तस्बिर लिएको कुरा थाहा पाइएको थियो । स्याटेलाइटले लिएकोमध्ये हजारौँ तस्बिरहरु हिमालय क्षेत्रको थियो ।

बेलायतको सेन्ट एन्ड्रुज विश्वविद्यालयमा जियोग्राफी र रिमोट सेन्सिङका प्राध्यापक टोयिबास बोल्शले सगरमाथाको तस्बिरको अध्ययन गरेको बताएका छन् । अध्ययनमा रोङ्गबुक, खुम्बु र इमाजा हिमनदीहरु एकदमै तीब्ररुपमा पग्लिरहेको उल्लेख गरिएको थियो । बोल्शका अनुसार पछिल्लो ६० वर्षमा सगरमाथाबाट प्रतिवर्ष करिब ८ इन्च हिउँ पग्लिरहेको छ । यसैगरी पग्लिरहने हो भने सगरमाथाबाट १ सय वर्षमा १ सय इन्च बरफ पग्लिने उनको भनाइ छ ।

यसको सबैभन्दा घाटा हिमनदीमा भरपर्ने देशहरु नेपाल र चीनलाई हुने देखिएको छ । नेपालका अधिकांश खानेपानी र जलविद्युतको श्रोत हिमनदी हो । त्यसैगरी हिमपात कम भएसँगै पर्वतारोहीको संख्यामा पनि कमी आउने छ । बोल्सले १९७० सम्म कम हिउँ पग्लिएपनि १९८० पछि हिउँ पग्लिने दर तीब्र भएको बताए । ‘यसले सबैभन्दा बढी घाटा चीन र नेपाललाई हुने देखिएको छ । दुई देशलाई पर्यटनको साथै पर्यावरणीय घाटा हुनेछ,’ बोल्सले भने ।

ग्लोवल वार्मिङका कारण हिउँ पग्लिने दर तीव्र भएको बोल्सको भनाइ छ । सगरमाथा क्षेत्रमा हरेक वर्ष बढिरहेको पर्यटकको संख्या र उनीहरुले गर्ने फोहोरका कारण पनि हिउँ छिटो पग्लिरहेको बोल्स बताउँछन् । एजेन्सीकाे सहयाेगमा