१७ कात्तिक, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको राजधानीमै गोली हानी हत्या गरिएको २५ दिन पूरा भइसक्दा पनि हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको भन्दै महासंघले आक्रोश व्यक्त गरेको छ ।

महासंघले आज राजधानीमा पत्रकार सम्मेलन गरी निरन्तरको आन्दोलन तथा दबाबका बाबजुद हत्यारा पत्ता लगाई सार्वजनिक गर्न राज्यले गरिरहेको ढिलाइप्रति खेदसमेत व्यक्त गरेको छ । गौचनको हत्यापछि पनि अन्य निर्माण व्यवसायीलाई लगातार धम्की आउने क्रम अझै जारी रहेको भन्दै महासंघले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकारसँग माग गरेको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले व्यवसायीले निर्धक्क भएर व्यवसाय गर्न पाउने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएको बताए ।