२२ मंसिर, काठमाडाैं । पौडीबाज गौरीका सिंहले तेह्रौैँ दक्षिण एशियाली खेलकूद (साग) मा अर्को स्वर्णपदक हात पारेकी छिन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा आज भएको खेलमा गौरीकाले ४०० मिटर फ्रिस्टाइलमा निर्धारित दुरी चार मिनेट २५.२८ सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हासिल गरेकी हुन् । उनले भारतकी खेलाडी शिवांगी शर्मालाई पछि पार्दै नेपाललाई स्वर्ण दिलाएकी हुन् । यससँगै उनले सागको एकै संस्करणमा तीन स्वर्णपदक जित्ने नयाँ कीर्तिमानसमेत कायम गरेकी छिन्। यसअघि उनले २०० मिटर ब्याकस्ट्रोक र २०० मिटर रिलेमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।

त्यसैगरी शिवांगीले निर्धारित दुरी चार मिनेट २६.२२ सेकेन्ड समय लगाउँदै पूरा गरिन् । तेस्रो स्थान हासिल गरेकी श्रीलङ्काकी रामुदी नुदाराले चार मिनेट ४१.९१ सेकेन्डमा दुरी पूरा गरिन् । रासस