२० फागुन, एजेन्सी । सामाजिक सञ्जाल ट्वीटरले आफ्ना कर्मचारीहरूलाई घरैबाट काम गर्न निर्देशन दिएको छ । कोरोनाभाइरस सङ्क्रमणबाट बचाउनको लागि कम्पनीले हङ‍्कङ, जापान र दक्षिण कोरियामा रहेका आफ्ना कर्मचारीलाई अनिवार्य रुपमा घरमा बसेर काम गर्न निर्देशन दिएको छ ।

ट्विटरको मानवसंशाधन विभागका प्रमुख जेनिफर क्रिस्टीले भनिन्, ‘हाम्रो लक्ष्य हाम्रो वरपर र हामीवरपरको विश्वमा कोभिड–१९ फैलिने सम्भावना कम गर्नु हो ।’ एक ब्लगमा ट्विटरले केही समययता घरबाट काम गर्ने तरिका विकास गरिरहेको पनि बताइएको छ ।

ब्लगमा भनिएकाे छ, ‘हाम्रो लागि यो ठूलो परिवर्तन भए पनि हामी कार्यशक्तिलाई विकेन्द्रीकृत गर्ने कार्य गरिरहेका छौँ । त्यसमा घरबाटै काम गर्ने कुरा पनि छ । हामी विश्वव्यापी सेवा हौँ र हामी संसारका कुनैपनि ठाउँबाट ट्विटरका लागि काम गर्न सक्ने अवस्था बनाउन प्रतिबद्ध छौँ ।’

यसअघि कम्पनीले आफ्ना कर्मचारीलाई अत्यावश्यकबाहेक अन्य व्यावसायिक यात्रा र कार्यक्रममाथि रोक लगाएको थियो । विश्वभर ट्वीटरका ५ हजार भन्दा धेरै कर्मचारी छन् ।