८ फागुन, झापा । झापामा एक चारतले घर भाडामा लिएर यौनधन्धा चलाउने तीन जना पक्राउ परेका छन् ।

युवतीलाई आर्थिक प्रलोभन देखाई मेचीनगरमा कोठा भाडामा लिएर यौन धन्दा चलाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला मोरङ विराटनगर उप महानगरपालिका ५ घर भई हाल झापाको मेचीनगर नगरपालिका ७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, मेचीनगर नगरपालिका ७ बस्ने ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मेचीनगर नगरपालिका ६ बस्ने ४६ वर्षीय सूर्य भन्ने श्यामप्रसाद सिवाकोटी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

उनीहरुलाई पक्राउ गरेसँगै दुई युवतीलाई त्यहाँबाट उद्धार गरी प्रहरीले घर पठाइ दिएका छन् । प्रहरीका अनुसार बिहीबार बिहान मेचीनगर ६ स्थित सडकमा अन्दाजी २० देखि २१ वर्षका दुई जना युवतीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले शङ्कास्पद अवस्थामा फेला पारी सोधपुछ गरेका थिए । सोधपुछको क्रममा ती दुई युवतीले आफ्नो घर भक्तपुर र मोरङ बताएकी थिइन् ।

युवतीले झापा जिल्ला बाहिर आफ्नो घर बताएपछि प्रहरीले थप सोधपुछ सुरु गरे । प्रहरीले गरेको सोधपुछको क्रममा युवतीले यौन धन्दा चलाएको घटनाको खुलासा गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।