सिड्नी, १३ जेठ । नेपाली मुलका अष्ट्रेलियन अर्बपति शेष घले दम्पत्तिका नाममा अष्ट्रेलियाको विश्वविद्यालयले छात्रवृत्ति दिन सुरु गरेको छ । शेष घले र जमुना गुरुङका नाममा अष्ट्रेलियाको फेडरेसन युनिभर्सिटीले छात्रवृत्ति प्रदान गर्न सुरु गरेको हो।

घले दम्पत्तीका नाममा स्थापना गरिएको छात्रवृत्तिअन्तर्गत पहिलोपटक तीनजना छात्राहरुले छात्रवृत्ति पाएका छन् । गत बिहीबार साँझ विश्वविद्यालयले एक नेपाली, एक भारतीय र एक अष्ट्रेलियन छात्रालाई जनही ७–७ हजार डलरका दरले छात्रवृृत्ति प्रदान गरेको हो ।

केही साताअघि फेडेरेसन युनिभर्सिटीले शेष र जमुनाका नाममा छात्रवृत्ति स्थापना गर्न घले दम्पत्तिसमक्ष प्रस्ताव गरेको थियो । सो प्रस्ताव स्वीकार्दै उनीहरुले हरेक साल छात्राहरुलाई मात्र यो छात्रवृत्ति दिने सर्त राखेका थिए ।

फेडेरेसन युनिभर्सिटी मातहत विभिन्न क्याम्पसमा अध्ययनरत जेहेन्दार छात्राहरुलाई यो छात्रवृत्ति दिइने छ । यसपटक एमआईटी कलेज अन्तर्गत सिड्नी क्याम्पसमा अध्ययनरत नेपाली छात्रा शर्मिला खनाल, एमआईटी मेलवर्न क्याम्पसमा अध्ययनरत भारतीय छात्रा कविता शर्मा र फेडरेसन युनिभर्सिटीमा अध्ययनरत केला थर्निकफ्टले जनही सात सात हजार डलरको छात्रवृत्ति पाएका छन् ।

शेष र जमुनाले स्थापना गरेको एमआइटी कलेजले फेडरेसन युनिभर्सिटीको कोर्स अध्यापन गराउँछ । घले दम्पत्तिले यो विश्वविद्यालयलाई दुई वर्ष पहिले २ लाख डलर अनुदान दिएका थिए ।