१ भदौ, खोटाङ । झगडामा गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका ३० वर्षीय महेश राईको हेलिकोप्टरमा उद्धार गरिएको छ ।

राईलाई उपचारका लागि काठमाडौँ लगिएको छ । बिहीबार राति कुटाइबाट गम्भीर घाइते भएका राईको प्राथमिक स्वास्थ्य चौकी बाक्सिलामा उपचार सम्भव नभएपछि रु एक लाख ८० हजारमा हेलिकोप्टर चार्टर गरी काठमाडौँ लगिएको उनका दाजु ईश्वर राईले जानकारी दिए । राईको टाउको, गाला र शरीरको अन्य भागमा चोट लागेको छ ।

उनको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न रहेको आरोपमा वडाध्यक्ष खगेन्द्र राईसहित स्थानीय चार युवालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए । घाइते महेश र वडाध्यक्ष खगेन्द्रबीच वडा कार्यालय भवन निर्माणमा उपभोक्ता समिति गठन गर्ने विषयमा बिहीबार विवाद भएको थियो । राति वडाध्यक्षसहितको समूहले महेशलाई कुटपिट गरेको थियो । रासस