काठमाडौं, २५ जेठ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले घोकन्ते शिक्षाबाट समाज र देशको विकास हुन नसक्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको पनौतीमा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले शनिबार आयोजना गरेको ‘शैक्षिक सामग्री हस्तान्तरण तथा सङ्घीय नेपालमा शिक्षाको महत्व’ विषयको कार्यक्रममा उनले संसारलाई बुझ्ने र बदल्ने शिक्षा भएकाले घोकन्ते ढङ्गले पढाउने र पढ्ने गरेर प्रगति हुन नसक्ने बताएका हुन् । विकासको लागि शिक्षा आवश्यक भएकाले सबै काम गर्ने मान्छेको चेतनाशक्तिलाई बढाउन सक्ने शिक्षा दिन शिक्षक÷शिक्षिका लाग्नुपर्नेमा उनले जोड दिए।

उनले भने, “आधुनिक युगको मन्दिर भनेको नै शैक्षिक केन्द्र हो, जसका पुजारी शिक्षक÷शिक्षिका हुन् । पवित्र थलो विद्यालयलाई परिवर्तन गर्ने मानव चेतनाको विकास उनीहरुले गर्नुपर्दछ ।”कर्मकाण्डी प्रकारको घोकन्ते शिक्षा दिएर खाली डिग्री मात्रै लिएर निस्कने खालको शिक्षण भएकाले त्यसले कुनै पनि विकासमा टेवा पु¥याउन नसक्ने उल्लेख गर्दै उनले अब स्थानीय तहले परम्परागत शैक्षिक प्रणाली बदल्न लाग्नुपर्नेमा जोड दिए । उनले अमेरिकालगायतका देश धन सम्पत्तिले नभई शिक्षा प्रणालीको माध्यमबाट नै विकास भएको उल्लेख गरे ।

प्रयोगात्मक शिक्षाको खाँचो रहेको र त्यससँगै सांस्कृतिक मूल्यमान्यतालाई समेत शिक्षामा समावेश गरेर बुझाउन आवश्यक रहेको उनको भनाइ छ । काठमाडौँ विश्व विद्यालयका उपकुलपति डा रामकण्ड माकजु श्रेष्ठले शिक्षक जसले शिक्षा दिएर विद्यार्थीलाई शक्तिशाली बनाउने भएकाले उनीहरुको आदर गर्ने बानीको विकास गर्नुपर्ने बताए । उनले अभिभावकलाई पनि गुणस्तरीय शिक्षा दिनमा नै जोड गर्न आग्रह गरे ।

सो अवसरमा विद्यालयले शैक्षिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई समेत सम्मान गरिएको छ ।