१८ साउन, काठमाडौं । टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार–२०७५ बाट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई पुरस्कृत हुनुभएको छ ।

टङ्क–सरिता फाउण्डेशनले शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले गाउँलेलाई पुरस्कार प्रदान गर्नुभयोे ।

नेता नेपालले मुलुकको आर्थिक विकासमा तीव्रता दिनका लागि भ्रष्टाचार बाधक रहेको भन्दै भ्रष्टाचारलाई निमिट्यान्न पार्नुपर्ने बताउनुभयो । ‘जबसम्म गलत कार्यप्रति घृणा पैदा गर्दैनौँ र दूरी कायम गर्न उत्पे्ररित गर्दैनौँ ती प्रवृत्ति हुर्कनेछन् । राम्रा मान्छे लुत्रो पर्ने र नराम्रा मान्छे शान बढ्ने खतरा हुन्छ’, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले कलाकारले समाजमा भएका विकृति विसङ्गति हटाउन पहल गरेको समेत बताउनुभयो । उहाँले अमेरिकामा बसेर पाठक फाउण्डेशनले नेपालको माया बिर्सन नसकेको उल्लेख गर्दै मुलुक बाहिर बसेका नेपालीले नेपालप्रतिको माया भुल्न नहुने बताउनुभयो ।

गाउँलेलाई भ्रष्टाचारविरुद्धको समाचार लेखेवापत दुई हजार अमेरिकी डलर राशि पुरस्कार प्रदान गरिएको हो । यसैगरी टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता प्रोत्साहन पुरस्कार–२०७५ वरिष्ठ पत्रकार चन्द्र भण्डारी र देवीका घर्तीमगरलाई प्रदान गरिएको छ ।

उहाँलाई पाँच सय डलर नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो । सोही अवसरमा एक हजार डलर राशि रहेको ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार–२०७५’ बाट वरिष्ठ जनवादी गायक जेवी टुहुरेलाई प्रदान गरिएको छ ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले भ्रष्टाचारले मुलुकमा जरो गाडेकोले उखेल्नुपर्ने बताउनुभयो । ‘‘भ्रष्टाचार हटाउन गाह्रो छ भनेर छोड्नु हुँदैन” उहाँले भन्नुभयो, ‘सबै मिलेर भ्रष्टाचारलाई मुलुकबाट उन्मूलन गर्नुपर्छ ।’

उहाँले राजनीतिक र कर्मचारीतन्त्रमा बढी भ्रष्टाचार रहेको समेत बताउनुभयो । कार्यक्रममा पुरष्कृत हुने पत्रकार गाउँलेले भ्रष्टाचारविरुद्ध पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो ।

उहाँले भ्रष्टाचार विरोध कार्य नगर्ने पत्रकार हुन नसक्ने भन्दै पत्रकारले जनतालाई सुसूचित पारेर भ्रष्टाचार नियन्त्रण गरिरहेको बताउनुभयो । कार्यक्रममा जनवादी गायक टुहुरेले मुलुकमा मौलाएको भ्रष्टाचार रोक्न सबै लाग्नुपर्ने बताउनुभयो ।

फाण्डेशनका संरक्षक हेम पाठकले भ्रष्टाचार विरोध अभियानलाई सहयोग पु¥याउन पुरस्कार प्रदान गर्न आफूहरुले थालेको बताउनुभयो । सोही अवसरमा बाजुराका ज्ञानदेव थापा र युवराज थापालाई फाण्डेशनका संरक्षक पाठकले ल्यापटप प्रदान गर्नुभएको थियो ।