२४ जेठ, बैतडी ।

चट्याङले बैतडी जिल्लाका विभिन्न फरकफरक ठाउँमा गरी सात ट्रान्सफर्मरमा क्षति गर्दा विद्युत् सेवा अवरुद्ध भएको छ ।

सोमबार र मङ्गलवार राति पानीसँगै परेको चट्याङले जिल्लाको देहिमाडौँमा तीन, श्रीकेदारमा तीन र गुरुखोलामा एक गरी सात ट्रान्सफर्मरमा क्षति गरेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवले जानकारी दिए। साथै, अत्तरिया–बैतडी ३३ केभी लाइन, बैतडी–अनारखोली ११ केभी लाइनको विभिन्न ठाउँमा विद्युत् तार चुँडिएकोसमेत उनले बताए ।

चट्याङले ट्रान्सफर्मरमा क्षति गर्दा तथा तार चुँडिदा बैतडीमा विद्युत् सेवासमेत अवरुद्ध भएको छ । साथै, जिल्लाका अन्य ठाउँमा पनि ट्रान्सफर्मरमा क्षति गरेको तथा तार चुँडिएर विद्युत् सेवा अवरुद्ध भएको खबर आएकाले क्षति विवरण सङ्कलन भइरहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । क्षति पुर्याएको लाइनको खोजी गरी मर्मतको कार्य भइरहेको केन्द्रले जनाएको छ ।

मर्मत कार्यसँगै विद्युत् सेवा सञ्चालनको काम पनि भइरहेको बताइएको छ । चट्याङले बैतडीको बसाली–रिम, बैतडी–सतबाँझ क्षेत्रको लाइनमा बढी क्षति पुर्याएको खबर आएको छ ।

जिल्लामा विद्युत् सेवा अवरुद्घ हुँदा यहाँका नागरिक सञ्चारविहीन भएका छन् । यसका साथै विद्युत्बाट सञ्चालित हुने कलकारखाना, मिल र सञ्चारमाध्यम पनि समस्यामा परेका छन् । विद्युत् सेवा सञ्चालन हुन केही दिन लाग्नसक्ने नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । रासस