१५ असोज, काठमाडौं । राजधानीको चन्द्रागिरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनको मृत्यु भएको छ ।

चन्द्रागिरी नगरपालिका–११ सतुङ्गलस्थित सडकमा बा३ ख ३८१७ नम्बरको टिपरले बा २६ प ४९०३ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवारको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवन रत्ननगर नगरपालिका–१६ घर भएका २५ वर्षीय सुनिल अधिकारी रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ललितपुर महालक्ष्मी नगरपालिका–२ ईमाडोल घर भएका ४१ वर्षीय टिका बहादुर बानियाको ओम समाज अस्पताल सतुंगलमा उपचार भइरहेको छ । दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।