बाँके, ४ जेठ । चरेशसहित पक्राउ परेका भारतीय तस्करलाई छुटाउन दबाब दिँदै बाँकेको नरैनापुरका स्थानीयले प्रदेश सांसदलाई नै बन्धक बनाएका छन् ।

प्रदेश नम्बर ५ की सांसद कृष्णा केसीले पत्रकार सम्मेलन नै गरी आफूलाई बन्धक बनाइएको बताएकी हुन् । शनिबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो निर्वाचन क्षेत्रको स्थलगत अवलोकन गरि फर्कने क्रममा गाडी रोकेर स्थानीयले आरोपीलाई मुक्त गर्न आफूलाई चार घण्टा बन्धक बनाएको बताइन् ।

‘चरेशसहित पक्राउ परेका भारतीय नागरिकलाई छोड्नुपर्ने उनीहरुको एकमात्र माग थियो,’ उनले भनिन् । उनले आफू चढेको गाडीको चक्काको हावा स्थानीयले खुस्काईदिएको बताइन् । इलाका प्रहरी कार्यालय, नरैनापुरको एउटा कोठामा चार घण्टा बिताउँदा मन आत्तिएको उनले अनुभव सुनाइन् । ‘चारैतिरबाट स्थानीयले हामी बसेको प्रहरी चौकीलाई घेरा हालेका थिए । लाठी र घरेलु हतियार बोकेकाहरु निरन्तर प्रहरी चौकीमाथि ढुंगामुढा गरेका थिए’ उनले घटनाबारे विस्तृतमा भनिन् ।

उनले एकातर्र्फबाट प्रहरीको हवाई फायर अर्कोतर्फबाट स्थानीयको ढुंगामुढा भएको बताइन् । भिड नियन्त्रण गर्न प्रहरीले ६३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । स्थानीयको आक्रमणमा परि तीनजना प्रहरी घाइते भएका छन् । सम्झाई बुझाई गर्दासमेत भिड नियन्त्रण नभएपछि हवाई फायर गर्न बाध्य भएको सापकोटाको भनाई छ ।

नरैनापुर गाउँपालिका कार्यालय अगाडि किराना पसल गर्ने देवीदिन विश्वकर्माको साथबाट प्रहरीले ६ किलो चरेश शुक्रवार दिउँसो साढे चार बजे नियन्त्रणमा लिएको थियो । विश्वकर्मालाई विनाशर्त छोड्नुपर्ने माग राख्दै स्थानीयले इलाका प्रहरी कार्यालय नरैनापुर घेराउ गर्दै प्रहरीको गाडी तोडफोड गरेका थिए ।