३० मंसिर, काठमाडाैं । चलचित्र विकास विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ ।

उनीहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति ५३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई राति नै चावहिलस्थित ओम अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्दासम्म उहाँ अचेत अवस्थामा रहनुभएको परिवारले जनाएको छ । अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको थियो । भट्टराई र क्षेत्रीको निधनले चलचित्र क्षेत्र शोकमा परेको छ ।

अभिनेता क्षेत्रीको निधन भएको भोलिपल्टै चलचित्र विकास बोर्डको नेतृत्व सम्हालिरहेका भट्टराईको समेत निधनले चलचित्र क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ । क्षेत्री शनिबार सुतिरहेको अवस्थामा मृत भेटिएका थिए । उनको शव परीक्षणको लागि अस्पतालमै राखिएको थियो । आज दिउँसो २ बजे दुवै अभिनेताको शव अन्तिम श्रद्धाञ्जलिका लागि चलचित्र विकास बोर्डमा ल्याइएको थियो । भट्टराई र क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शेर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुःख व्यक्त गरेका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले चलचित्र विकास बोर्डमा पुगी अन्तिम श्रद्धाञ्जलि दिए ।

सयौँको सङ्ख्यामा आएका चलचित्रकर्मी, अन्य क्षेत्रका कलाकार, शुभेच्छुकहरुले श्रद्धाञ्जलि दिए । जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष खगेन्द्र राईले महासङ्घका केन्द्रीय सचिवालय सदस्यसमेत रहेका भट्टराईको पार्थिव शरीरमा नेकपाको झण्डा ओडाई अन्तिम श्रद्धाञ्जलि दिए । अध्यक्ष राईले भट्टराईको निधनले चलचित्र क्षेत्रसँगै सिङ्गो सांस्कृतिक क्षेत्रमा ठूलो क्षति पुगेको बताए। “उहाँ बहुआयामिक व्यक्ति हुनुहुन्थ्यो” राईले भने,“प्रिय व्यक्ति गुमाउनु पर्दा निकै पीडाबोध भइरहेको छ ।”

अभिनेता दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्ष भइसकेपछि भट्टराईले धेरै सुधारका काम थालेको बताए । “उहाँमा कुर्सीमा बस्दा केही राम्रा काम गरेर देखाउनुपर्छ भन्ने भावना थियो” डिसीले भने, “उहाँका अधुरा सपना पूरा गर्न हामी लागिपर्नेछौँ ।” अभिनेत्री सरिता लामिछानेले अभिनेता र निर्मातासँगै एउटा कुशल अभिभावक गुमाउनु परेको बताइन् । उनले एकै पटक दुईजना असल कलाकार गुमाउनु पर्दा चलचित्र क्षेत्रले अपूरणीय क्षति ब्यहोर्नु परेको बताइन्।

गत चैत ७ गते भट्टराईलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो । उहाँका श्रीमती र एक छोरा छन् । उनले थुप्रै फिल्ममा अभिनेताको भूमिका निर्वाह गरेका थिए । उहाँले आफैँ निर्माण गरेका अधिकांश फिल्मले सफलता हासिल गरेका छन् । भट्टराईले आफ्नो मान्छे, पाहुना, कर्मयोद्घा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल, यात्रालगायतका चलचित्र निर्माण गरेका छन्। रासस