१९ मंसिर, काठमाडौं ।
निर्वाचन आयोगले प्रत्यक्ष तर्फको ४ दिनभित्र र समानुपातिक तर्फको ८ दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने घोषणा गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दे यसअघि भएको स्थानीय निर्वाचन र अहिलेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन फरक भएकाले छिटै मतपरिणाम सार्वजनिक हुने जनाएको हो ।

पत्रकार सम्मेलनमा आयोगका आयुक्त ईश्वरी न्यौपानेले प्रत्यक्षतर्फ पहिला मत गणना हुने र सम्भव भएमात्र समानुपातिक मत गणनसँगै गर्ने तयारीमा आयोग रहेको बताए । प्रतिनिधि सभा र प्रदेशको प्रत्यक्ष गणना गर्ने र त्यसपछि मात्र समानुपातिकको गणना गर्ने पक्षमा आयोग रहेको भन्दै आयुक्त न्यौपानेले २१ गते ५ बजेपछि पहिलो चरणमा भएको मतदानको गणना सुरू गरिने जानकारी दिए ।

दोस्रो चरणको मत गणना भने मतपेटिकाहरु जिल्ला निर्वाचन कार्यलयमा संकलन भएपछि सर्वदलीय बैठक राखेर सुरु गरिने उनले बताए । उनले मत गणनालाई छिटो गर्न आवश्यक कर्मचारीको व्यवस्था मिलाएको र एक साताभित्र सबै जिल्लाको परिणाम आउने दाबी गरे ।

पत्रकार सम्मेलनमा उहाले निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए । दोश्रो चरणको निर्वाचनका लागी सबै निर्वाचन क्षेत्रमा निर्वाचनका सामाग्री पुगेको निर्वाचन आयोगले जनाएको छ ।