६ बैशाख, ऐजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अाज एउटा ठुलो छुद्रग्रह पृथ्वी नजिक करिब १८ लाख किलोमिटरको दुरीबाट सुरक्षित प्रस्थान गर्ने जनाएको छ ।

उक्त छुद्रग्रह पृथ्वीसँग ठोक्किने कुनै सम्भावना छैन । तर यसको आकारको हिसावले यो छुद्रग्रह पृथ्वीसँगको नजिकको दुरीबाट प्रस्थान हुनु नै महत्वपुर्ण हुने जनाइएको छ ।

उक्त छुद्रग्रहको नाम २०१४ जेओ २५ राखिएको छ । यसको खोज सन् २०१४ मा अमेरिकाको एरिजोना स्थित क्याटालिना स्काई सर्वेका खगोलशास्त्रीहरुले गरेका थिए । यो छुद्रग्रहको आकार करिब ६ सय ५० मिटर रहेको छ ।

यसको भौतिक संरचनाका बारेमा अहिलेसम्म कम मात्रै जानकारी रहेको छ । यद्यपी यसको परिक्रमण कक्षका बारेमा पर्याप्त जानकारी रहेको वैज्ञानिकहरुले बताएका छन् ।

उक्त छुद्र ग्रह सुर्यको दिशाबाट पृथ्वी तर्फ नजिकिने छ र अप्रिल १९ पछि राती आकासमा देख्न सकिनेछ । अर्को पटक यो आकारको छुद्रग्रह सन् २०१७ मा मात्र पृथ्वीको नजिक आउनेछ । त्यतिबेला आउने छुद्रग्रह ८ सय मिटर फराकिलो हुने र त्यो एक चन्द्र दुरी अर्थात करिब ३ लाख ८० किलोमिटरको दुरीमा हुने छ ।

अप्रिल १९ को यस घटनले उक्त छुद्रग्रहको अध्ययन गर्ने एउटा राम्रो अवसर जुट्नेमा वैज्ञानिकहरु आशावादी रहेका छन् । विश्वभरीका खगोलशास्त्रीहरु दुरबिनको सहयोगबाट यसको अध्ययन गर्ने योजनामा जुटेका छन् । विगत ४ सय बर्ष यता यो छुद्रग्रह पृथ्वीको यति नजिक आएको छैन र कम्तिमा आगामी ५ सय बर्षसम्म पृथ्वीको यति नजिक आउने पनि छैन ।

नासाले अाजनै अर्को धुमकेटु प्यानस्टार्स (सी–२०१५ इआर ६१) पृथ्वीको नजिक १७ करोड ५० लाख किलोमिटरको दुरीबाट सुरक्षित गुज्रिन जनाएको छ ।