१७ जेठ।

चितवनको भरतपुर महानगरपालिकामा मतगणना गर्ने क्रममा मतपत्र च्यातिएपछि १९ नम्बर वडामा पुनः मतगणना गर्ने कि मतदान भन्ने विवाद उत्कर्षमा पुगेको छ । एमालेले पुनःमतगणनाको पक्षमा चर्को आवाज उठाईरहेको छ भने कांग्रेस र माओवादी पुनः मतदानको पक्षमा छन् ।

मतपत्र च्यातिएपछि दलहरुबीचको विवाद उत्कर्षमा पुगेको छ । घटनाको वास्तविकता अहिलेसम्म बाहिर आएको छैन् । मतगणना रोचक मोडमा पुगेको अवस्थामा मतपत्र च्यातिएको छ । प्रस्तुत छ यसैसन्दर्भमा नेकपा माओवादी केन्द्रको तर्फबाट भरतपुर महानरपालिकाको प्रमुखको उम्मेदवार रेणु दाहालसँग नेपाली हेडलाइन्सका लागि प्रयास पराजुलीले गरेको कुराकानीः–

भरतपुरमा मतगणना गर्ने क्रममा मतपत्र च्याचिएपछि उत्पन्न विवादलाई कसरी लिनुभएको छ ?

सुरुदेखि मैले भरतपुर महानगरपालिका उम्मेदवारी दिएपछि मेरो विरुद्ध गलत प्रचार गरिएको थियो । जुन प्रचारलाई एमालेबाट उम्मेदवार बनेका देवी ज्ञवालीले झन गलत ढंगले प्रचार गर्नु भयो ।

यतिसम्म कि पूर्व प्रधानमन्त्री समेत भइसकेका एमालेका अध्यक्ष केपी ओलीले नै चितवनमा आएर छुद्र अभिव्यक्ति दिन पछि पर्नु भएन । ओलीले कार्यकर्तालाई जे सिकाउनु भयो । त्यसैगरी निर्वाचनको अवधिभर मेरो विरुद्ध प्रचण्ड पुत्रीको रुपमा गलत ढंगले प्रचार गरियो । हार्ने अवस्था आएपछि मलाई बदनाम बनाउने उदेश्यले एमालेले मतपत्र च्यात्ने काम गर्यो ।

मतगणना गर्नु अघि पनि विवाद भयो । अन्तिम अवस्थामा मतपत्र नै च्यात्ने काम भयो । एमालेले यसको सम्पूर्ण दोष तपाईको पार्टीलाई लगाएको छ नि ?

कार्यक्रममा सहभागी हुन प्रचण्ड चितवन आउदा पनि हेलिकोप्टर लिएर मतपेटिका साट्न आयो भनेर अनावश्यक हल्ला फैलाइएकै हो । मतगणना गर्नु अघि पनि मैले बोल्दै नबोलेको विषयलाई गलत ढंगले प्रचार गरियो । मैले रुखमा परेको मत आफ्नो पक्षमा गणना गर्नुपर्छ भनेको थिइन ।

उम्मेदवार भएदेखि नै मेरो विरुद्ध निरन्तर गलत प्रचार गरियो । मेरो विरुद्ध पर्चा बनाएर नै जनताको बीचमा मध्य रातमा भ्रम छर्न खोजियो । देवी ज्ञवालीले ३८ सय मतले अग्रता गर्दा पनि हामीले निकै संयमित र धैर्यको साथ स्वीकार गर्यौ ।

लोकन्त्रिक विधि र प्रक्रिया स्वीकार गरेपछि हार र जित स्वभाविक हो । त्यसलाई स्वभाविक रुपमै स्वीकार गर्नुपर्छ । जब मतान्तर घटेर ७ सय ३३ मा आइपुग्यो । तब एमाले हारको मानसिकताका पुग्यो । अनि मतपत्र च्यात्ने दोष हामीलाई लगायो ।

मतपत्र च्यात्ने घटनालाई कसरी लिनुभएको छ ?

यो घटना दुःखदायी छ । नहुनु पर्दथ्यो । जुन घटनाले कसैलाई पनि फाइदा गर्दैन । अहिले त्यही घटनालाई कारण देखाउदै एमालेले संसद अवरुद्ध गर्ने काम गरेको छ । निर्वाचन आयोगबाट घटनाको सत्यतथ्य आउन बाँकी नै छ ।

माओवादीमाथि घेराबन्दी गर्ने दबाब र धम्की दिने काम भएको छ । एमालेले जसरी अभिव्यक्ति दिइरहेको छ । सरासर गलत छ ।

अब के गर्ने त ?

जे नहुुनु पर्दथ्यो, त्यो भइनै सक्यो । अबको विकल्प भनेको नियम र कानून अनुसार पुनः भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा मतदान गर्नुपर्छ । हामी अहिले पनि जिम्मेवार छौं ।

पार्टीले सुरुदेखि नै भन्दै आएको छ निर्वाचनमा पार्टीको हारजित आफ्नो ठाउँमा छ तर एजेण्डाले जित्नु पर्छ । निर्वाचनमा भाग लिएपछि हार र जित हुन्छ । यसलाई सहज रुपमा लिनुपर्छ । हामीले लिएको पनि छौं ।

घटनाको वास्ताविकता के हो ?

एमालेहरुले गलत रुपमा एकतर्फी रुपमा कुप्रचार गरिरहेका छन् । अहिले माओवादीले मतपत्र च्यात्यो भनेर भनिरहेका छन् । वास्तविकता र यर्थातमा मतपत्र एमालेका कार्यकर्ताहरुले च्यातेका हुन् ।

जब मतान्तर घटदै गयो । तब एमालेहरु आत्तिएका थिए । हार्ने निश्चित भएपछि धेरै ठूलो छटपटी देखिएको थियो । हामीले जे परिणाम आएपनि धेर्यताको साथ मतगणना कार्यलाई सघाइरहेका थियौं । निर्वाचन हार्ने भएपछि एमालेहरुले केही गर्नुपर्छ भनेर तानाबुना बुनिरहेका थिए । त्यो सूचना आइरहेको थियो ।

मतगणना गर्ने क्रममा पटक–पटक निहुँ खोल्ने काम गर्दै आएको थियो । मतगणनास्थलमा टर्च लाइट लैजाने, हुलदंगा गर्ने विभिन्न प्रयास असफल हुँदै आएको थियो । अन्तिममा अर्घकट्टीमा स्वस्तिक छाप लगाएको विषयमा निहुँ खोज्ने काम भयो । दुवै पक्षबीच भनाभन भयो ।

त्यसपछि एमालेका प्रतिनिधि मतपत्र च्याने काममा उत्रिए । मतपत्र जोगाउन एमालेलाई रोक्ने क्रममा केही मत्रपत्र च्यातिएको हो । माओवादीले मतपत्र च्यातेको होइन । मतपत्र जोगाउन खोज्दा हामीमाथि मतपत्र च्यातेको आरोप लागेको छ । यो सरासर झुट र कपोकल्पित हो ।

अब निर्वाचन अयोगले पुनः मतगणना गर्ने निर्णय गर्यो भने के गर्नुहुन्छ ?

निर्वाचन सम्बन्धि कानूनी जे व्यवस्था छ त्यही अनसार पुनः मतदान गर्नुपर्छ । मतदान गर्नुको अर्को विकल्प छैन् । मतपत्र च्यातिएको छ । मगणनास्थलमा लथालिङ्ग छ । मतपत्र च्यातिएपछि मगणना कार्य नै स्थगित भएको छ ।

मतगणना गर्ने कार्य सम्भव हुन सक्दैन । यो स्वीकार्य छैन् । सबै नियम अनुसार चल्नु पर्छ । पुनः मतदानपछि जे परिणाम आउछ म त्यो स्वीकार गर्न तयार छु ।