• बोमलाल गिरी

अघिल्लो दिनसम्म मन शान्त थियो । जव बिहान भयो, मनमा तरंग उत्पन्न भयो । रेडियोमा गए, आधा घण्टाको कार्यक्रम चलाएँ । डेरामा पुगिसक्दा मन अनौठोसँग विरक्तिएको थियो । अनि एकाएक घर जाने मुड चल्यो । अफिसका साथीहरुलाई फोन गरी घर जानका लागि विदा भएँ ।
नलवलपरासीको डण्डा पुग्न काठमाडौंबाट ४ देखि ५ घण्टाको माइक्रो यात्रा हो । तर शनिवारको दिन, थानकोट कट्नै ३ घण्टामै बितिसकेको थियो । माइक्रोका चालक हेर्दै अल्लारे जस्तो देखिने, थानकोटको ओरालो बाटो अनि मुसलधारे वर्षा । मुटुको ढुकढुकी बढिरहेको थियो । तर जेहोस् ११ घण्टा लगाएर रातीको ११ बजे सकुसल घर पुगेँ ।

पाँच वर्षको छोरो, पाँच महिनापछि बाबा भेट्ने र बाबासँगै सुत्ने सपना पालेर राती १० बजेसम्म त कुरेर बसेछ । तर बाबा नआइपुगेपछि हजुरबाबासँग सुतेछ । बाबाले चीनबाट लगिदिएका खेलौना र कपडा पनि राम्रोसँग हेर्न पाएन । भाेलीपल्ट उसलाई स्कुल जान हतार भइरहेको थियो । म त्यसै दिन फर्कने कुराले न उसलाई स्कुल जाने मुड थियो, न मैले लगिदिएका खेलौना र नानाले उसलाई खुशी दिएको थियो । निक्कै मलिन हुँदै, गहभरि आँशुका साथ स्कुल बसमा चढ्यो ।

छोरो एकरात पनि मसँग सुत्न पाएन । उ दुखी थियो । मलाई भने अर्कै कुराले पिरोलीरहेको थियो । सबैको नजर परेको चितवन भरतपुरको चुनावी परिणाम ! कसले हार्छ, कस्ले जित्त त्यो मेरो लागि खासै चासोको विषय थिएन, थियो त केवल फिल्डमै गएर त्यहाँको रिपोर्टिङ गर्ने ।

परिवारसँग राम्रोसँग एकछिन पनि नबसी खाना खाएर चितवन महानगरपालिका पुगेँ । दिउँसोको १ बजेको थियो होला, भर्खरै ताजा परिणाम आएको रहेछ । जसले उपप्रमुखमा काग्रेसकी पार्वती शाहको जित शुनिश्चित गरेको थियो । उनी त्यही खुशियालीमा रमाईरहेकी थिइन ।

एकछिन राम्रैसँग त्यहाँको माहौल नियालीरहेँ । मतगणना स्थल, कवर्ड हल बारिहका जनता पूर्ण रुपमा दुई भागमा विभाजित थिए । हल बाहिर दायाँ साइड एमाले र बायाँ साइड कांग्रेस–माओवादीका कार्यकर्ताले कब्जा गरेका थिए ।

साँझ पर्दै गयो । माहौल त्यति नै तात्तिँदै थियो । कोही कोहीले कानेखुशी गर्दै थिए । चितवनको गर्मी पनि गर्मी जस्तो लागेको थिएन । पत्रकारहरुका लागि टेण्ट र कुर्चीको व्यवस्था गरिएको रहेछ । साथी नारायण ढुंगाना र म त्यही टेण्ट मुनि गएर बस्यौं ।

धेरै पत्रकार साथीहरुसँग भेट भयो । अनुहारले नचिनिए पनि धेरै पत्रकारको लागि नामले म नौलो रहेनछु । कसैले लिचि, कसैले पानी किनेर ल्याइरहेका थिए । आज मतगणनाको अन्तिम रात । भोली गणतन्त्र दिवसकै दिन भरतपुर महानगरपालिकाले नयाँ मेयर पाउँछ भन्दै गफगाफ चालिरहेको थियो । कोही पत्रकारले सेल्फी खिच्न पनि भ्याइरहेका थिए ।


कहिलेकाँही मनले सोचेको पनि पुग्दो रहेछ । दिउँसोदेखिको त्यहाँको माहौल हेर्दा लागिरहेको थियो, त्यहाँ केही अप्रिय घटना हुदैछ ।

मनको यो आशंका मेटाउन नसकेपछि नारायण जि र म त्यो रात पूरै कवर्ड हलमै बिताउने योजनामा थियौं ।

१९ र २० दुईवटा वडाको मात्र मतगणना बाँकी थियो । ६ सय गनिसकेपछि पत्रकारलाई जानकारी दिइन्थ्यो । ६ सय, १२ सय हुँदै १८ सयको नतिजा आइसकेको थियो ।

जसले रेणुको पक्षमा त्यति उत्साह थपेको थिएन । अव २४ सयको आउँछ वा एकैचोटि १९ वडाको अन्तिम नतिजा आउँछ भन्ने द्धिविधा थियो ।

१२ सयको गणना सकिएपछि तीन चार जनाको एउटा समूह ‘म नगई भित्र कसरी मतगणना हुन्छ’ भन्दै प्रहरीसँगको केहीबेरको विवादपछि भित्र छिरयो । म त्यहाँको लागि नौलो थिएँ, अनुहारले मान्छे चिन्न सकिन । यहाँ यस्तै हुन्छ होला भन्ने लाग्यो । त्यसपछि चहलपहल झन् बढ्दै थियो ।

त्यतिकैमा एक जना टेलिभिजनकी साथीले सुनाइन ला… राष्ट्रकविको मृत्यु भएछ ..! एक्कै छिन त्यो हावा नराम्रोसँग चल्यो । अरु त परै जावस गृहमन्त्रीले समेत आधिकारिकता पुष्टि गर्न तिर नलागि स्टाटस लेख्न तिर लागे ।

तर झुठ कतिबेर पो टिक्थ्यो र । एकैछिनमा त्यो फेसबुके समाचारले हावा खायो । कोहीले स्टाटस सच्चाउन थाले, कोही डिलिट गर्न तिर लागे ।
त्यो चिन्ता र आक्रोसको माहौल तत्कालै हतासतामा परिणत भयो, जव मतगणना स्थल भित्रकै वातावरण खल्वलियो । चर्कोचर्को श्वरहरु सुनिन थाले, प्रहरीको सल्वलाहट बढ्यो, पत्रकारहरु कोही क्यामेरा र मोवाइल भित्र तेस्र्याउन थाले । हल बारिहको कार्यकर्ताको भिड उत्तेजित भयो ।
भयो के ?

भित्रबाट एकजनाले चर्को श्वरमा भने, ‘मतपत्र च्यातियो’ । धेरै पत्रकारले चेनगेटको प्वालबाट मोवाइल छिराएर फोटो खिच्न तछाडमछाड गरिरहेका थिए । मैले सोचे को रहेछ मतपत्र च्यात्ने ? त्यसको त भिडियो नै खिच्नु पर्छ भन्ने बुद्धि आयो । हल भित्र छिर्ने चेनगेटको छेवैमा प्रहरीले नाम टिप्न राखेको टेवल थियो, त्यही टेवलमाथि चढेर म चाँही मोवाइलबाट भिडियो खिच्न थालेँ ।

कोलाहल झन मच्चियो । भित्रबाट प्रहरीले दुई जनालाई र बारिहबाट एक जनालाई नियन्त्रणमा लियो । त्यतिञ्जेल माओवादीले धाँदली गर्यो भन्ने खवर छ्याप्छ्याप्ती भइसकेको थियो । अनि एमाले कार्यकर्ताहरु बढी उत्तेजित भएपछि प्रहरी अत्ताल्लिए जस्तो देखिन्थ्यो ।

प्रहरी उपरिक्षक दीपक थापाले प्रहरी नायव उपरिक्षक दीपक श्रेष्ठलाई ‘थप २०० प्रहरी मगा’ भन्दै निर्देशन दिइरहेका थिए । अनि प्रहरी जवानहरुलाई पटक पटक निर्देशन दिँदैथिए, ‘गोलि चला गोली, साले मरे मर्छ, मतगणना स्थलमा आतंक मच्च्याउने ?’

प्रहरीको यो निर्देशन लगत्तै आक्रोसित भिड तितरवितर भयो । एकै छिनमा दुई ट्रक प्रहरी आयो । हतियार सहितको एक ट्रक प्रहरीले बाहिरी सुरक्षा दियो, अर्को ट्रक सिधै मतगणना स्थल प्रवेश गर्यो ।

कार्यकर्तालाई प्रहरीले लखेटेपछि बाहिर शान्त भयो, भित्रको कोलाहल झन् चर्को हुँदै थियो । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले पत्रकार माझ आएर भने, ‘त्यो बेला म त ट्वाइलेट गएको थिएँ, फर्केर आउँदा मतपत्र च्यातिएका थिए र मतगणनास्थल रणमैदानमा परिणत भइसकेको थियो । दोषी को हो मलाई थाहा छैन । अब यो सबै निर्वाचन आयोगलाई जानकारी गराउँछु, जे गर्छ आयोगले गर्छ ।’

उनी निक्कै बचेर बोलेका थिए तर एमाले मेयरका उम्मेदवार देवी ज्ञवालीले यो सबै माओवादी र कांग्रेसले गरेको आरोप लगाए । यतिबेला रातीको सवा २ बजिसकेको थियो ।

म चाहन्थे, समाचार सन्तुलित होस्, दोषी पक्षको पनि भनाई आओस् । त्यसका लागि मैले माओवादी मेयरकी उम्मेदवार रेणु दाहाल र अन्यलाई सम्पर्क गर्ने प्रयास गरे । सम्पर्क हुन सकेन । त्यतिञ्जेल महानगरको सम्पूर्ण निर्वाचन प्रकृया स्थगित भएको थियो ।

घटनास्थललाई प्रहरीले शिल गरिसकेको थियो । चितवन घटना देश विदेशमा फैलिइसकेको थियो । त्यसैले अब त केही हुन्न भनेर साथी नारायण र म एकछिन भए पनि सुत्ने कि भनेर राती ३ बजे टाँडी तिर जाँदै थियौं ।

हामी जव चितवन र टाँडीको बीचको जंगल गोन्द्रयाङ्ग पुगेका थियौं, माओवादी नेता नारायण दाहालले फोन गरेर भन्दै थिए, दोषी एमाले, तर दोष भरी हामीलाई ! कसरी आयो यो एक पक्षीय न्यूज !?