२२ भदौ, काठमाडौं । चीनका विदेमन्त्री वाङ यी आज काठमाडौं आउँदैछन् । उनी तीनदिने औपचारिक भ्रमणका लागि केहीबेरमा काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वाङ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै विशेष विमानबाट साँझ सवा ५ बजे त्रिभुवन विमास्थल आइपुग्नेछन् ।

आज आएर सोझै होटल द्वारिकाजमा गएर बस्ने उनले भोली सोमबारदेखि औपचारिक भेटवार्ता गर्नेछन् । चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमणको तयारीका लागि उनी आउन लागेका हुन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङबीच भोली नै द्विपक्षीय समझदारी र सहकार्यका विषयमा छलफल हुने छ ।

वार्तामा नेपाल–चीनबीच दुईवटा समझदारी आदानप्रदान हुनेछ । भूकम्पपछि चीनले दिएको सहयोगको समीक्षा हुनेछ । यस्तै तातोपानी र केरुङ नाकाका अध्यागमनको सहजता, भौतिक संरचना, टिमुरेमा बनाउने ड्राइपोर्ट, रेलमार्ग निर्माण प्रक्रियामा भइरहेको प्रगतिका विषयमा छलफल हुनेछ । भ्रमणका क्रमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट्ने कार्यक्रम छ ।