२३ भदाै, काठमाडाैं । तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज बिहान पर्यटकीय पर्वत चन्द्रागिरि पुगेका छन् ।

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीलाई चन्द्रागिरि हिल्समा सोमबार स्वागत गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित हिल्सका पदाधिकारी । तस्वीरः एकराज पाठक, रासस

काठमाडौंको पश्चिम–दक्षिणमा अवस्थित आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ केबलकारमार्फत पुगेका हुन् । चन्द्रागिरिको चुचुरोमा विदेशमन्त्री वाङलाई चन्द्रगिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिशेख विक्रम शाह, सञ्चालकहरु हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरेका थिए ।

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी सोमबार चन्द्रागिरि हिल्समा । तस्बिर:एकराज पाठक, रासस

चन्द्रागिरि डाँडामा अत्याधुनिक रिसोर्टको निर्माणसँगै विविध एकीकृत पर्यटकीय संरचनाहरुका साथै भालेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । चन्द्रागिरि हिल्स नेपाल भ्रमणमा आउने विदेशी उच्चपदस्थ अधिकारीहरुका साथै विदेशी तथा स्वदेशी पर्यटकहरुको एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने गरेको छ । विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको आमन्त्रणमा द्विपक्षीय वार्तामा भाग लिन आइतबार साँझ काठमाडौं आइपुगेका हुन् ।