७ भदौ, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने भएका छन् । भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर नेपाल आएर फर्केको केहीदिनमै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणमा चिनियाँ विदेशमन्त्री नेपाल आउने भएका हुन् ।

विदेशमन्त्री वाङ भदौको अन्तिम साता नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ । उनी भदौ १५ र १६ गते नेपाल आउन सक्ने श्रोतको दाबी छ । वाङको भ्रमणले चिनियाँ राष्ट्रपति सि जिन पिङको सम्भावित भ्रमणलाई टुंगोमा पु¥याउने अपेक्षा गरिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि वाङ काठमाडौं आउने पहिलो उच्चस्तर चिनियाँ राजनीतिज्ञ समेत हुनेछन् ।

विदेशमन्त्रीको भ्रमणलाई लिएर काठमाडौंमा उच्च सुरक्षा सतर्कता बढाइएको छ भने तिब्बती शरणार्थीलाई समेत निगरानीमा राखिएको छ । राष्ट्रपति सि जिन पिङको असोज २५ गतेदेखि हुने भारत भ्रमणलाई लक्षित गरी एक दिने नेपाल भ्रमण भएपनि गराउने तयारी परराष्ट्र मन्त्रालयले गरेको छ ।