१० मंसिर, बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका–५ गोत्री सामुदायिक एकाइ केन्द्रमा सोमबार दिउँसो एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–६ गोत्रीकी ३५ वर्षीया पुल्ती रावल रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।

घरमै सुत्केरी भएकी रावलको साल अट्किएपछि अत्यधिक रक्तश्रावका कारण बेहोस अवस्थामा स्वास्थ्य केन्द्र गोत्री पुर्‍याइएको स्वास्थ्य एकाइमा कार्यरत स्वास्थ्य सहायक अमर बुढाले बताए । ‘एकाइमा पुर्‍याउँदा बेहोस नै हुनुहुन्थ्यो, साल निकालेपछि रगत पनि रोकियो, घाम ताप्दै बिस्कुट र चिया खानुभएको थियो, तरपछि एक्कासि मृत्यु भयो’, स्वास्थ्य सहायक बुढाको भनाइ छ ।

हेलिकप्टरको लागि प्रयास गर्ने क्रममा सुत्केरीको अवस्था सुध्रेको पाइएपछि प्रमुख जिल्ला अधिकारीलाई त्यही सूचना पठाइएपनि एकाएक उनको मृत्यु भएको डा. विश्वकर्माको भनाइ छ । बाजुरामा यसअघि पाँच सुत्केरीको हेलिकप्टरमार्फत राष्ट्रपति उद्धार सहयोग कार्यक्रमबाट उद्धार गरिएको थियो । रासस