भद्रपुर, चैत १७ । पूर्वका चिया बगान तथा कारखानामा कार्यरत श्रमिकले सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै आजदेखि चरणबद्ध आन्दोलन शुरु गरेका छन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर सङ्घले संयुक्तरूपमा आर्थिक वर्ष २०७५/७६ को साउनदेखि श्रमिकका लागि तोकिएको न्यूनतम ज्याला पाउनुपर्ने माग राखेर आन्दोलन थालेका हुन् ।

उनीहरुले आज सबै चिया प्रतिष्ठानमा अनिश्चितकालीन तालाबन्दीसहित चन्द्रगढीमा विरोधसभा गरेका थिए । गिरिजाप्रसाद कोइराला स्मृति भवन अगाडिबाट ‘श्रम ऐन लागू गर, राजपत्रमा उल्लेखित न्यूनतम पारिश्रमिक कार्यान्वयन गर’लगायत नारा लेखिएका ब्यानरसहित निकालिएको -याली जिल्ला प्रशासन कार्यालय हुँदै चन्द्रगढी बजार परिक्रमा गरी ट्रेड युनियन चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले चिया बगान र कारखानाका मालिकले नेपाल सरकारको राजपत्रमा उल्लेखित पारिश्रमिक कार्यान्वयनमा चासो नदिएकाले आन्दोलित हुनुपरेको बताए । सरकारले तोकेको न्यूनतम ज्यालाबमोजिम चिया बगानमा कार्यरत श्रमिकको पारिश्रमिक दैनिक रु २३१ तथा महङ्गी भत्ता रु १५४ पाउनुपर्ने हुन्छ । सो ज्याला नपाएपछि चिया मजदूर पुनःआन्दोलित बनेका हुन् ।

अखिल नेपाल चिया मजदूर सङ्गठनका केन्द्रीय अध्यक्ष सीता सापकोटाले मजदूर र बगान मालिकबीच पटकपटक गरिएको वार्ता र छलफल निष्कर्षविहीन भएपछि बन्द हड्तालमा उत्रनु परेको बताईन । उनले कैयौँपटक व्यवसायी र सरकारको ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेकाले मजदूरले अनिश्चितकालीन तालाबन्दीसहित आन्दोलन गर्नुपरेको बताइन् । झापा, इलाम, धनकुटा, पाँचथर र तेह्रथुममका चिया बगान तथा कारखानामा कार्यरत मजदूर एकैसाथ आन्दोलित बनेका छन् । मजदूरले यही चैत १८ गते आफू कार्यरत बगानमा औजारसहित बृहत् जुलुश प्रदर्शन गर्ने, १९ गते विर्तामोडमा तथा २१ गते काँकडभिट्टामा विरोधसभा गर्ने कार्यक्रम रहेको मजदूर नेता दीपक तामाङले बताए । रासस