५ माघ, एजेन्सी । फेसबुकले चीनका राष्ट्रपति सी जिनपिङको नाम बर्जीम भाषाबाट अंग्रेजीमा गलत अनुवादको लागि माफी मागेको छ । राष्ट्रपति सी जिनपिङ म्यानमारको दुईदिने भ्रमणमा छन् । भ्रमणको दोश्रो दिन अनुवादमा भएको गल्ती बाहिरिएको हो ।

शनिबार राष्ट्रपति शीको भेट म्यानमारकी नेता आङ सान सूचीसँग भएको थियो । दुई नेताहरुबीच द्धिपक्षीय सम्बन्धलाई मजबुत बनाउने सम्झौतामा हस्ताक्षर भएको थियो । यो भेटको क्रममा बर्जीम भाषाको फेसबुक पोस्टमा राष्ट्रपति शीको नामको अनुवाद अंग्रेजीमा ‘शितोले’ भएको थियो । यो फेसबुक पोस्ट सूचीले आधिकारिक अकाउन्टबाट शेयर गरेकी थिइन् । फेसबुकले शनिबार एक विज्ञप्ति जारी गर्दै प्राविधिक समस्याका कारण गल्ती भएको स्वीकार गरेको छ ।

फेसबुकका प्रवक्ता एन्डी स्टोनले आफ्नो विज्ञप्तिमा भनेका छन्, ‘बर्जीमबाट अंग्रेजीमा अनुवाद हुँदा प्राविधिक समस्या भएको थियो, जसलाई अहिले सुधारिएको छ । यस्तो हुनुहुदैन्थ्यो, भविष्यमा यस्तो गल्ती नहोस् भन्दै हामीले थप कदम उठाएका छौँ । म्यानमारमा दुई तिहाई मानिसले बर्जिम भाषा बोल्ने गर्छन् ।’

फेसबुकले शी नामलाई डाटाबेसमा नहालेको स्वीकार गरेका छन् । यदि फेसबुकको डाटाबेसमा कुनै शब्द राखिएन भने यसको अनुवादको क्रममा त्यसैसँग मिल्दोजुल्दो कुनै अर्को शब्द लिनेगर्छ ।