२९ फागुन, एजेन्सी । चीनको उत्तरपश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनः शुरु भएको छ । चीनको हुबे प्रान्तमा कोरोनाभाइरसको सङ्क्रमण फैलिएसँग देशका कतिपय भागमा रेल तथा अन्य यातायात सेवा बन्द गरिएका थिए ।

सिनजियाङको राजधानी उरुम्की र सिनजियाङकै हमी, तुर्पान र होर्गोस जोड्ने तिब्र गतिको बुलेट ट्रेनको सेवा बुधबारदेखि शुरु भएको रेल अधिकारीहरुले बताएका छन् । चाइना रेलवेका अनुसार अरु कम गतिका रेलहरुको सेवा पनि चाँडै शुरु हुनेछ । सिनजियाङ रेलवे अधिकारीहरुले यात्रुहरुले अनलाइन वा रेलवे स्टेशनमै आएर टिकट किन्न सक्ने बताएका छन् ।

सिनजियाङका उद्योग धन्दा सबै पूर्ण क्षमतामा सञ्चालन हुन थालेका छन् भने मानिसको दैनिक जीवन सहज भएको छ । सिनजियाङमा लगातार २३ दिनसम्म कोरोनाभाइरसका एक जना पनि रोगी फेला परेका छैनन् । स्थानीय सरकारले कोरोनाभाइरसको सङ्क्रमण सिनजियाङमा देखा नपरेको भन्दै आपतकालीन स्थितिलाई हटाएको छ । रासस