१७ माघ, एजेन्सी । कुनै पनि चिनियाँ नागरिक तथा अन्य देशका नागरिकलाई चीनबाट आफ्नो देशमा आउन मङ्गोलियाले प्रतिबन्ध लगाएको छ ।

मङ्गोलियाले चीन हुँदै विमान, रेल वा सडक यातायात मार्फत् आफ्नो देशमा भित्रिन नपाइने व्यवस्था गरिएको शुक्रबार घोषणा गरेको छ । विनाशकारी कोरोना भाइरसका कारण चीनमा धेरै जनाको मृत्यु भइसकेको र संसार भरी नै फैलिँदै गएकाले उच्च सतर्कता अन्तर्गत उनीहरूलाई प्रतिबन्ध लगाइएको अधिकारीले जनाएका छन् ।

सो प्रतिबन्ध अहिलेलाई शनिबार अर्थात् फेब्रुअरी १ देखि मार्च २ सम्मका लागि निर्धारण गरिएको पनि समाचारमा जनाइएको छ । सरकारले जारी गरेको वक्तव्यका अनुसार आगामी फेब्रुअरी ६ सम्म चिनियाँ नागरिकलाई स्वदेश फर्किन भने सामान्य रुट नै प्रयोग गर्न पाइने भएको छ ।

त्यसपछि दुई जमिन उड्मा रहेको रेल नाका र राजधानी सहर उल्लान्बातारमा रहेको विमानस्थलबाट मात्रै उनीहरुलाई घर फर्किन दिइने भएको छ । मङ्गोलियामा अहिलेसम्म कोही पनि कोरोना भाइरसबाट संक्रमित भएको नभेटिएको अधिकारीले जनाएका छन् ।

मङ्गोलियाले चीनसँगको नाकाबाट कारमा आफ्नो देशमा भित्रिन नदिने व्यवस्था यसअघि नै गरिसकेको थियो । मङ्गोलियामा अहिले विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् भने सार्वजनिक कार्यक्रमहरू गर्न नपाइने भइसकेको छ । सार्वजनिक कार्यक्रम र विद्यालयमा हुने जमघटबाट भाइरस एकबाट अर्कोमा सर्न सक्ने खतरा हुने भएकाले बन्द गरिएको मङ्गोलियाका अधिकारीको भनाइ छ ।

चिनियाँ स्वास्थ्य अधिकारीकाअनुसार बिहीबार राति अबेरसम्म यस भाइरसबाट २१३ जनाको मृत्यु भएको र नौ हजार ६९२ जना सङ्क्रमित भएका छन् ।