२ फागुन, एजेन्सी । विश्वभरका ६५ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । चीनमा मृत्यु हुनेको संख्या १५ सयभन्दा बढी भइसकेको छ । विश्वका अन्य देशहरुमा पनि मानिसहरुको मृत्युको खबर आइरहेको छ । मानिसहरुमा भाइरसको कारण आफ्ना घरपालुवा जनावरहरुलाई पनि मास्क लगाइदिएका छन् ।

चीनको सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरुमा कुकुर र बिरालोलाई मास्क लगाएको देखिएको छ । जनावरलाई मास्क लगाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । मानिसहरुले कुकुरको मुखमा मात्र नभएर चारवटा गोडामा समेत विभिन्न सुरक्षित सामाग्रीहरु लगाएर मात्र घरबाहिर लिएर हिडेँका छन् ।

केही समयअघि कोरोना भाइरसका कारण मानिसहरुले घरपालुवा जनावरहरु धमाधम मारेर फाल्ने गरेका थिए तर अहिले भने जागरुकताका कारण मानिसहरुले जनावर मार्न छाडेका छन् । कोरोना भाइरसबाट बच्नको लागि जनावरलाई पनि मद्दत गरेको भन्दै सामाजिक सञ्जालमा यसको खुब तारिफ भइरहेको छ ।