एजेन्सी । दक्षिणी चीनको सिचुवान प्रान्तमा गएको शक्तिशाली भूकम्पमा परी १२ जनाको मृत्यु भएको छ । सोमबार साँझ गएको ६ रेक्टर स्केलको भूकम्प गएको हो । १ सय २२ जना घाइते भएको बीबीसीले जनाएको छ ।

चिनियाँ भूकम्प नेटवर्क केन्द्रका अनुसार भूकम्प जमिनको सतहभन्दा १६ किलोमिटर तल केन्द्रविन्दु बनाएर गएको थियो । यिबिन नगरका अधिकारीहरुका अनुसार भूकम्पपछि लगातार वर्षासमेत भइरहेको छ । वर्षाका कारण उद्धार र राहतमा कठिनाई भइरहेको छ । भूकम्पले चाङनिङ जिल्लामा एउटा होटेल भत्किएको र केही सडकहरु चिरा परेको जनाइएको छ ।

त्यहाँको आकस्मिक व्यवस्थापन मन्त्रालयले उद्धारका लागि टोली पठाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । भूकम्पपछि केही शक्तिशाली पराकम्पहरु पनि गइरहेका छन् । स्थानीय टेलिभिजनहरुले मानिसहरु भग्नावशेषबाट निकालिरहेका दृश्य प्रशारण गरिरहेका छन् ।

सिचुवान प्रान्त भूकम्पीय जोखिमका हिसाबले उच्च खतरा रहेको ठाउँ हो । सन् २००८ मा गएको भूकम्पका कारण त्यस क्षेत्रमा ९० हजार मानिसको मृत्यु भएको थियो । चीनकै हेबेई प्रान्तको ताङशान शहरमा सन् १९७६ मा गएको भूकम्पमा करिब २ लाख ५० हजार मानिसको मृत्यु भएको थियो ।