काठमाडौं ।

सामान्य अवस्थामा वाणिज्य तथा आपुर्ति मन्त्रालय खासै चासोको मन्त्रालय होइन । तर भारतीय नाकाबन्दीकाबीच बनेको ओली सरकारको एक महिने आयुमा सबैभन्दा चासोका साथ हेरिएको र नजिकबाट नियालिएको मन्त्रालय आपुर्ती मन्त्रालय हो भने सबैभन्दा नजिकबाट अवलोकन भैरहेका मन्त्री हुन् आपुर्ती मन्त्री गणेश मान पुन । एमाओवादीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाइसिएल) को संयोजक पदमा छँदा कम देखिन र सुनिन चाहने तर आफ्नो काम निरन्तर गरिरहने छवि बनाएका गणेश मान पुनलाई आपुर्तीमन्त्री बनेपछि भने नबोलेर सुख्खै भएन ।

मन्त्रालय सम्हाले देखि नै भारतीय नाकाबन्दीले पैदा गरेको इन्धन हाहाकार टार्न चीनबाट इन्धन ल्याउने मिसनमा खटिएका पुनले इन्धन काठमाडौं नआए सम्म बोल्दै बोल्दिन भनेर कसम खाएका थिए तर त्यसो हुन सकेन । उनलाई बोल्नै पर्‍यो के भैरहेको छ भनेर जानकारी दिनै पर्‍यो । भूकम्पको समयमा सयौं घर टहरा बनाएर पनि छायाँमा परेका पुन आपुर्तिमन्त्री बनेपछि भने नचाहाँदा नचाँहदै मिडिया सेलिब्रेटी बनिरहेका छन् । उनले बोल्ने हरेक कुरालाई कान ठाडो पारेर सुन्नु पर्ने अवस्था भएका कारण पनि मिडिया उनको पछाडी छन् ।

Ganeshman Pun

कर्मचारी तन्त्र र आयल निगमबाट समेत अपेक्षित सहयोग नपाएपछि गोप्य मिसनमा आफै बेइजिङ पुगेर ब्यापारिक आपुर्तीका लागि इन्धन मागेका पुनले सकारात्मक जवाफ पाए । यद्यपी चीनको नाका भारतको जस्तो सहज नभएका कारण भन्दासाथ चिनियाँ इन्धन नेपाल भित्रिन नसक्ने तथ्यले उनलाई पिरोलिरहेको अनुभव उनी मन्त्री क्वार्टर छिर्नासाथ प्रस्तुत मनोभावबाट बुझ्न सकिन्थ्यो ।

खाने सुत्ने ठेगान नभएर विरामी पर्न थालेको पत्निको गुनासो

नेपाली हेडलाइन्सका प्रतिनिधी शुक्रबार साँझ पुल्चोकस्थित मन्त्री निवास पुग्दा ८ बजे सम्म पनि मन्त्री पुन निवास फर्केका थिएनन् । निवासमा पति पुनको प्रतिक्षामा रहेकी पूर्व मन्त्री तथा सभाषद कमला रोकाले आपुर्तिमन्त्री बनेपछि तनावको स्तर असाध्यै धेरै बढेको र दौडधुपले गर्दा पति दैनिक पुग नपुग ४ घण्टा मात्र सुत्ने गरेको सुनाइन् । राति १२ बजे सम्म मन्त्रालयकै अनेकन काममा ब्यस्त हुने र १२ बजे खाना खाएर १ बजेतिर सुत्ने गरेका मन्त्री पुन विहान ४ बजे फोनका घण्टी बज्न थालेपछि उठ्न बाध्य हुने गरेको भन्दै उनले खाने सुत्ने ठेगान नहुँदा विरामी पर्न थालेको गुनासो समेत उनले सुनाइन् ।

करिव साढे ८ बजेतिर मन्त्री निवास छिरेका मन्त्री पुनलाई हामीले सोध्यौं, ‘खासमा चीनको मनस्थिति के हो? नेपाललाई चाहिने इन्धन दिन चीन तयार भएकै हो? नेपालमाथि चीनको विश्वास कत्तिको पाउनु भो ?’
प्रश्न माथि प्रश्न सुनेपछि मन्त्री पुनले चीन नेपालसँग प्रचारवाजी विना नै ब्यापारिकरुपमा अघि बढ्न तयार रहेको बताए । मेरो अनौपचारिक तहमा कुरा भएको हो, चीन नेपाललाई चाहिने सबै इन्धन दिन पनि तयार छ, त्यसका लागि हामी लिन तयार हुनु पर्‍यो, हामीसँग राजमार्ग समेत छैनन्, नाकाको अवस्था राम्रो छैन’।

Ganeshman Pun minister

मन्त्री पुनले अगाडी थपे, ‘चीन धेरै हल्ला नहोस् तर ब्यापारिक सम्झौता होस् भन्ने चाहन्छ तर हाम्रोमा हल्ला बढी काम कम हुने प्रवृत्तिसँग उनीहरु सचेत देखिन्छन् ।’ चीन भारतसँगको ब्यापारिक सम्बन्ध नविगारीकन र चीनसँगको सम्बन्धका कारण नेपाललाई थप दवाव पैदा नहोस् भन्नेमा सचेत देखिएको संकेत गर्दै भने- उनीहरुले हामीलाई चाहिएको जति इन्धन दिन तयार छन् तर हामी त्यो लिनका लागि तयार हुनु पर्‍यो । भौतिक पूर्वाधार देखि मानसिकरुपमा समेत ब्यापारिकरुपमा सम्भव हुने कुरा सबै गर्न चीन तयार रहेको उनले बुझाए । अव नेपालले ब्यापारिक स्तरमा भारतमाथिको इन्धन आपुर्ति निर्भरता कम गर्नै पर्ने र त्यसका लागि केही महंगो परेपनि दीर्घकालीन सम्झौता गर्नका लागि आफू लागिरहेको उनले सुनाए । कुनै देश विरुद्धको योजना भन्दा पनि नेपाललाई आगामी दिनमा अहिले जस्तो संकट नआओस् भनेर आफू चीनसँग सम्झौता गर्न लागिरहेको उनले स्पष्ट पारे ।

कर्मचारीको शैली पुरानै

आपुर्ती मन्त्रालय अहिले इमर्जेन्सी रेस्पोन्स मन्त्रालय जस्तो बनेको भएपनि सरकारी कर्मचारीको कार्यशैली भने असाध्यै सुस्त र नियमित देखिने गरेको मन्त्री पुनले अनुभव सुनाए । अहिलेको आवश्यकता अनुसारको स्पिरिट कमै कर्मचारीमा देखिने गरेको उनको संकेत थियो । संस्थागत कालोबजारी नियन्त्रण गर्नका लागि सबैभन्दा चुनौति अनुभव भैरहेको सुनाउँदै उनले ढिलो छिटो सबैलाई कारवाहीको दायरमा ल्याउने प्रष्ट्याए ।

आयल निगमबाटै इन्धनको कालोबजारी, कार्यकारी निर्देशक खड्कामाथि गम्भिर प्रश्न

आफ्नै लागि नयाँ क्षेत्र रहेको आपुर्ति मन्त्रालय निक्कै चुनौतीपूर्ण समयमा सम्हाल्न पुगेका पुनले चाहेकै समयमा जनताको हात हातमा इन्धन दिन नसकेपनि दीर्घकालीनरुपमा नेपाललाई सहज हुनेगरी केही गरेरै छाड्ने गरी जुटिरहेको दृढता ब्यक्त गरेका छन् । नेपालले इन्धनमा मात्र नभएर अन्य दैनिक जीवनका आवश्यक बस्तुमा समेत ब्यापारिक विविधीकरण गरेर भारतमाथिको निर्भरता घटाउँदै जाने रणनीति पनि छिटै लागु गरिने समेत उनले हेडलाइन्सलाई बताए ।

सरोज गौतमसँगको कुराकानीमा आधारित ।