५ फागुन, एजेन्सी । कोरोना (कोभिड १९) भाइरसले आक्रान्त बनेको चीनमा मास्कको अभाव भएपछि चीनले उद्योग नै खोल्न लागेको छ । ६ दिनमै उद्योग संचालनमा ल्याउनेगरी काम सुरु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चाइना कन्सट्रक्सन फस्र्ट ग्रुपले उद्योग खोल्न लागेको हो । उद्योगबाट एक दिनमा २ लाख ५० हजार वटा मास्क उत्पादन हुनेछ । आज सोमबारदेखि निर्माण थालिएको उद्योग शनिबार सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उद्योग निर्माणका लागि मजदुरहरु तिनै सिफ्टमा काममा जुटेका छन् ।

काममा खटिएका मजदुहरुमा कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि दिनहुँ स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ । कोरोनाको संक्रमण भएको लक्षण देखिएमा त्यस्ता कामदारलाई राख्न छुट्टै कोठा बनाइने समाचारमा उल्लेख छ ।

कोरोना भाइरसको संक्रमणका कारण मास्कको खपत ह्वात्तै बढेपछि अहिले चीनमा मास्क पाउनै मुश्किल छ । सरकारले मास्कको आपूर्ती बढाउनका लागि अन्य उपायसँगै उत्पादन बढाउने नीति लिएको हो ।

चीन सरकारले यसअघि कोरोना भाइरसबाट संक्रमित बिरामीका लागि उपचार गर्न १० दिनमै अस्पताल बनाएको थियो । चीनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ सय पुगिसकेको छ ।