६ असोज, काठमाडौं । पार्टीले २ नम्बर प्रदेशमा सोचेजस्तो परिणाम नल्याएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रो चरणको निर्वाचनमा आफूहरु असफल भएको बताएका छन् ।

यसअघि ओलीले २ नम्बर प्रदेशमा पनि एमाले पहिलो पार्टी हुने दाबी गर्दै आएका थिए । पार्टीको आजदेखि सुरु भएको आठौं केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन् । सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले सत्ताको चरम दुरुपयोग गरेर आफूहरुलाई हराइएको ओलीको दाबी थियो ।

सत्तारुढ दलको अलोकतान्त्रिक चरित्रका कारण आफूहरु पराजित हुनुपरेको भन्दै ओलीले सत्तारुढ दलहरुले सत्ताको दुरुपयोग गरेर पैसा बाँडेको आरोप लगाए । चुनावको आचारसंहित विपरित आफूलाई सहयोग नगर्ने प्रशासकको मनपरि सरुवाका कारण पनि चुनावमा प्रभाव परेको ओलीको विश्लेषण थियो ।

‘मैले निश्पक्ष निर्वाचन होस् भनेर आग्रह गर्दा मलाइ नै आचार संहिता उलंघन गर्योे भनेर पत्र काट्यो’ उनले भने ‘आचारसंहिता पनि एमालेलाई मात्र लाग्ने रहेछ।’ एमालेले दुई नम्बर प्रदेशमा धेरै जित निकाल्न नसके पनि पहिलो पार्टी नै रहने ओलीको दाबी थियो ।