८ मंसिर, काठमाडौं । चारपटक देशको प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी भिड तताउने मेसोमा राष्ट्रियताको विषयमा गम्भीर अभिव्यक्ति दिएका छन्। देउवाले कास्की २ को चुनावी भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीको स्वीकृतिमै भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको आरोप लगाएका छन्।

‘ओलीले भारतसँग केही भित्री सल्लाह गरेरै त्यो नक्सा छापेर निस्केको हो। भारतले त्यसै छापेकै होइन, ओलीसँग सल्लाह गरेरै छापेको हो। ओलीको सहमतिविना त छाप्नै सक्दैन,’ देउवाले भने। प्रमुख प्रतिपक्षी दलका नेताको यो अभिव्यक्तिले राष्ट्रियताप्रति जागरण बढायो कि नेताको बोलीप्रति विश्वास घटायो? 

देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा घुँडा टेक्दै लम्पसरवादमा परिणत भएको टिप्पणी गरे। कांग्रेस नेता डा.शेखर कोइरालाले सभापति देउवाको भनाईबाट आफू अचम्मित भएको प्रतिक्रिया दिएका नयाँपत्रिकामा खवर छ । नेकपाका नेता वामदेव गौतमले देउवाको अभिव्यक्तिले कांग्रेस दरिद्र अवस्थामा पुगिसकेको पुष्टी भएको बताएका छन्।