३० भदौ, काठमाडौं ।

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको प्रचार प्रसारका लागि मुख्य दलका शीर्ष नेताहरुलाई भ्याइ नभ्याइ भएको छ । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएपछि दलहरु आ–आफ्नो पक्षमा भोट तान्ने अन्तिम कसरतमा लागेका छन् ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज बारा र पर्सामा हुने आमसभालाई सम्बोधन गर्दैछन् । पार्टीको चुनाव प्रचारका लागि तीन दिन अघि नै तराई झरेका प्रधानमन्त्री देउवा बाराको कलैया र पर्साको वीरगंजमा हुने आमसभालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आजै तराई जाँदैछन् । बाराको जितपुर सिमरा उपमहानगरपालिका र महोत्तरीको बर्दिवासमा हुने चुनावी सभालाई ओलीले सम्बोधन गर्ने एमालेले जनाएको छ ।

एमालेका अन्य शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, इश्वर पोख्रेल, भिम रावल लगायतका नेताहरु केहीदिन अघिदेखि नै चुनावी प्रचारमा खटिएपनि अध्यक्ष ओली भने आज मात्रै तराई जान लागेका हुन् ।

झण्डै दुई सातादेखि प्रदेश दुईमै पुगेर आफ्ना पार्टीका उम्मेदवारलाई भोट माग्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पनि विभिन्न स्थानका आमसभालाई सम्बोधन गर्दैछन् । उनले आज रौतहट, सर्लाही र पर्सामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर गृह जिल्ला सर्लाहीमा सक्रिय रहेका छन् । राजेन्द्र महतो सप्तरी र शरदसिंह भण्डारीले वीरगंजमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आजै ११ ठाउँको चुनावी सभालाई सम्बोधन गर्दैछन् ।