एजेन्सी । विश्वमा चोरीका घट्नाका अनौठा अनौठा किस्सा सुन्न, पढ्न र देख्न पाईन्छ । सामान्यतः एउटा चोरले चोरी गर्न कस्ता कस्ता हत्कण्डा अपनाउला र के के उपयोग गर्ला ।

तर दक्षिण अफ्रिकामा चोरी गर्न गधालाई प्रयोग गरियो भन्ने सुन्दा तपाईं आश्चर्यमा पर्नुहोला । यो सत्य हो, दक्षिण अफ्रिकामा कार चोरी गर्ने एउटा गिरोहले गधा प्रयोग गरेर कार लैजाने गरेको तथ्य प्रकाशमा आएको छ । प्रहरीका अनुसार चोरी भएको एउटा लक्जरी कार गधा प्रयोग गरेर लैजाँदै गरेको अवस्थामा फेला पारिएको छ ।

गधाले तानेर जिम्बाबेतर्फ लैजान नदी पार गर्न लागेको अवस्थामा कार बरामद भएको हो । स्थानीय प्रहरीका अनुसार कार तस्करी गर्ने कोशिश असफल भएपछि चोरहरु जिम्बाबेतर्फ भागेका थिए । गत वर्ष डिसेम्बरमा पनि डर्बनबाट चोरी भएको एक कारलाई नदी पार गराउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

उक्त कारलाई पनि गधाले तानेर लगिदैं गरेको अवस्थामा फेला पारिएको प्रहरीले जानकारी दिएको छ । कार लैजान गधाको प्रयोग किन भइरहेको छ ? भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको अनुमानअनुसार आधुनिक सवारी साधनमा सामान्यतया ट्रयाकिङ्ग उपकरण जडान गरिएको हुन्छ, जसको मद्दतमा कार कहाँ छ भन्ने थाहा पाउन सकिन्छ ।

उक्त उपकरण कार स्टार्ट गरिएको अवस्थामा मात्र चालु हुने भएकाले चोरहरुले कारलाई स्टार्ट नगरी गधा प्रयोग गरेर लैजाने गरेको हुन सक्छ ।