१३ भदौ, काठमाडौं । अन्ततः ‘छ माया छपक्कै’को रिलिज डेट तय भएको छ । निर्माण पक्षले शुक्रबार सिनेमाको पहिलो गीत सार्वजनिक गर्दै असोज २४ लाई आधिकारिक रिलिज चुनेको छ ।

‘जुनको जुनेली’ बोलको गीतको गीतमा केकी अधिकारी, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्दि तामाङ, सुपुष्पा भट्ट, रजनी गुरुङलगायतका कलाकार फिचरिङ छन् । पश्चिमेली भाकामा बनेको गीतले ‘मानो रोपेर मुरी भित्र्याउने’सम्मको परिवेशलाई भिडियोमा उतारेको छ ।

राजेन्द्र थापाको शब्द सिर्जना रहेको गीतमा बसन्त थापाको संगीत छ । भने, स्वरमा संगीतकारले मीना निरौलासँग भाका हालेका छन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । दीपेन्द्र लामा निर्देशित सिनेमामा दीपकराज गिरीको पटकथा र अभिमन्यु निरबी, केदार घिमिरे, जितु नेपालसहितको संवाद छ ।

दीपक(दीपाको प्रस्तुति रहेको सिनेमामा रोहित अधिकारीको लगानी छ । जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको सिनेमामा सुमन गिरी (भान्जा), ताराचन्द बजगाईं (निशान), केशव न्यौपाने, सुरज बम ठकुरी र रविन डाँगीको सह(निर्माण छ ।