६ चैत, पर्शुरामधाम । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा ग्याबिन तारले पासो लगाएर गाईको हत्या गरिएको छ । सामुदायिक वनको भिरालो क्षेत्रमा झुण्ड्याएर मारिएको अवस्थामा आधा दर्जनभन्दा बढी गाईको शव भेटिएको हो ।

देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा करिब एक साताअघि गाईको हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान शुरू गरेको छ । पाँचवटा गाई रुखमा झुण्ड्याइएको अवस्थामा र एउटा गाईको बङ्गारा भेटिएको छ भने गाई मार्नका लागि बनाइएको ग्याबिन तारको दुईवटा खाली पासो भेटिएका छन् ।

मारिएका गाई दुई वर्षभित्रका रहेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र डडेल्धुराका पशुसेवा प्राविधिक शेरबहादुर थापाले जानकारी दिए । मरेका गाईहरुलाई स्याल, कुकुर तथा गिद्धलेसमेत खाएको अवस्थामा देखेपछि स्थानीयवासीको जानकारीको आधारमा घटना आज सार्वजनिक भएको हो । गाईलाई कसले र किन पासो लगाएर मारेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले सात वटा गाईको पासो लगाएर हत्या गरिएको प्रारम्भिक अनुमान छ । आज बिहान स्थानीय प्रहरी, प्रशासन, जनप्रतिनिधि, पशुसेवा प्राविधिक र सञ्चारकर्मीको टोलीले गौहत्या गरिएको क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका छन् । प्रहरीले सामूहिक गौहत्याको अनुसन्धान शुरु गरिएको र हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । रासस