३० कात्तिक, स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकार जनताको स्वास्थ्यप्रति सचेत रहेको बताएकी छन् ।

वालिङ अस्पताल भकुण्डे र अन्नपूर्ण अस्पताल पोखराको संयुक्त आयोजनामा शनिवार वालिङमा सञ्चालित १ दिने निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकार जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न हरसम्भव प्रयासरत रहेको बताइन् ।

‘जनताको स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ भन्ने मनसायका साथ स्वास्थ्य बीमा कार्यक्रम सरकारले सञ्चालन गरेको हो,’ उनले भनिन् । मन्त्री अर्यालले स्वास्थ्य क्षेत्रको विकासबिना समृद्ध नेपाल निर्माण सम्भव नभएको उल्लेख गरिन् ।

वालिङ अस्पतालका अध्यक्ष शोभाकान्त पौडेलले शिविरमा बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञलगायत सेवा प्रदान गरिने जानकारी दिइन् । स्याङ्जा, पर्वत र गुल्मीका नागरिकलाई समेत पायक पर्ने भएकाले बढीभन्दा बढी सर्वसाधारणले जनताले सेवा लिन सक्ने उनले बताइन् । रासस