३० साउन, पाल्पा । रामपुर नगरपालिका क्षेत्रमा छाडा पशुचौपायाले सताएपछि यहाँका स्थानीयले वडा कार्यालय परिसरमै लगेर बाँधिदिएका छन् । खेतबारीमा लगाएका अन्नबाली, तरकारी खेती समूहमा आएका पशुले खाएर नष्ट पार्न थालेपछि कृषकले सम्बन्धित वडा कार्यालय तथा नगरपालिका कार्यालयमा गुनासो राख्दै आए पनि व्यवस्थापन हुन सकेको थिएन ।

पटकपटक छाडा पशुचौपायाले सताएर हैरानी खेपेका यहाँका स्थानीयले नगरपालिका–६ को कार्यालय परिसरमै लगेर बाँधिदिएका हुन् । स्थानीय आफैँले अस्थायी टहरा निर्माण तथा बारबन्देज गरेर यत्रतत्र छरिएर रहेका छाडा पशु बाँध्न थालिएको छ ।

छाडा पशुले रातदिन खेतबारीमा पसेर बालीनाली नै नोक्सान गरेको जताततैबाट गुनासो आएपछि स्थानीयको सक्रियतामा व्यवस्थापन गर्ने काम भएको धर्मराज ढकालले जानकारी दिनुभयो । ‘बारबन्देज, टहरा निर्माणलगायतका काम स्थानीय मिलेर गरियो, अहिले छाडा पशुचौपायाको गाउँघरमा समस्या कम हुँदै गएको छ’, उहाँले भन्नुभयो । अस्थायी टहराभित्र २५ वटा छाडा पशुचौपाया रहेका छन् ।

उत्पादन लिने बेला भएका तरकारी, अन्नबाली छाडा पशुचौपायाले खाएर लगानी नै उठाउनै नसकिएको बताउँदै अहिले अस्थायी टहरा बनाएर राखेपछि कृषि व्यवसाय ढुक्कका साथ गर्न थालेको गङ्गा बस्यालले बताउनुभयो । ‘पटक पटक खेतबारीमा पसेर बालीनाली नै सखापै पारेपछि वडा कार्यालयमै डो¥याएर लगेर बाँधिदिएका छौँ, अस्थायी टहराभित्र पशु बाँध्न थालेपछि कृषकलाई ठूलो राहत मिलेको छ’, उहाँले भन्नुभयो ।

अस्थायी टहरा निर्माण खर्च व्यवस्थान तथा हेरालु दुई जना व्यक्तिको प्रबन्ध वडा कार्यालयले गरिदिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो । ‘कृषकको गुनासोलाई मध्यनजर गर्दै हाललाई वडा कार्यालय परिसरमै अस्थाथी टहरामा बाँधिएको छ, छाडा पशु व्यवस्थापन तथा गाई संरक्षणका लागि वडा नं ६ कै तातोपानीघाटमा पक्की गौशाला निर्माणको काम भइरहेको छ, आउँदो तिहारको लक्ष्मीपूजाका दिन गाई बाँधेर उद्घाटन गर्ने योजना छ’, अध्यक्ष न्यौपानेले भन्नुभयो ।

नगरपालिकाको रु ५० लाखको लागत अनुमानमा १५ रोपनी क्षेत्रफलमा २०० पशु अट्ने क्षमताको गौशाला निर्माण भइरहेको भवन निर्माण समितिका संयोजक ओमप्रकाश रेग्मीले बताउनुभयो । यहाँ गौशाला निर्माण कार्य हुन थालेपछि रामपुरका कृषक खुशी भएका छन् । यत्रतत्र छरिएर दिनहुँ समूहमा १०÷१५ वटा छाडा गाई, बाच्छा किसानको खेतबारीमा पसेर एकैपटक बालीनाली नै सखापै पार्न थालेपछि कृषकले सास्ती भोगिरहेका छन् ।

घरमा पालिएका गाईले दूध दिन छाडेपछि पालनपोषणको झन्झटले किसानले घरबाट निकालेर अन्यत्र लगेर छाड्ने गरेकाले हिजोआज नगरपालिका क्षेत्रमा छाडा पशु चौपायाको आतङ्क बढ्दो छ । रासस