२९ मंसिर, खोटाङ । सामान्य विवादमा आफ्नै साथीलाई मुसल प्रहार गरी हत्या गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएको बिहीबार राति काठको मुसलले हानेर हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले गैरीगुठका २७ वर्षीय रमेश राईको हत्या गरी भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । ओखलढुङगाको हर्कपुरबाट पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय खोटाङले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

हत्या अभियोगमा पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका २७ वर्षीय भबिन राई, २१ वर्षीय अशोक राई र २५ वर्षीय बलराज राई रहेका छन् । मुसल प्रहारबाट घाईते भएका रमेशको हलेसीकै एक क्लिनिकमा उपचारकोक्रममा मृत्यु भएको थियो । अभियुक्तहरुलाई म्यादथप गरि अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए ।

भूकम्पले भत्काएको घर पुनःनिर्माण सम्वन्धी काम गरेर फर्कदै गरेका रमेशसँग बाटोमा भेट भएपछि सामान्य बिबादमा झगडा हुँदा उनीहरुले कुटपिट गरेको प्रहरीले जनाएको छ । घट्नामा संलग्न भबिन राई सशस्त्र प्रहरी जवान हुन् ।