४ पुस, खलंगा । दुई सय वर्षअघिको ऐतिहासिक नालापानी युद्धको साक्षी रहेको खलंगा किल्ला संरक्षणको पर्खाइमा रहेको छ । खलंगा भारत, उत्तराखण्ड राज्यको राजधानी देहरादुन नजिक पर्दछ । khalanga

अंग्रेजले नालापानी युद्धमा नेपाली सेनालाई पराजित गरेका थिए तर, अंग्रेज नेपालीको वीरता देखेर हायल–कायल भएका थिए । देहरादुनदेखि ५ किलोमिटर उत्तर सहस्रधारा रोडस्थित खलंगा किल्लामा यो युद्धसंग सम्वन्धित आफ्नै किसिमको अनौठो स्मारक पनि रहेको छ ।

नेपाली भाषीको बाहुल्यता रहेको सो स्थानका स्थानीय संरक्षण र रेखदेखको अभावमा यो किल्ला नष्ट हुने अवस्थामा रहेको बताउँछन् । नालापानी युद्धदेखि सो क्षेत्र भारतीय भएकाले यसको संरक्षणको जिम्मेदारी पनि भारतको भएको स्थानीयले बताएका छन् । आफ्नो पुर्खाले वीरताको इतिहास रचेको यो स्थान हेर्न नेपालीहरू आउन भन्ने उनीहरूको चाहना छ ।

यो स्थानले बेलायती सेनाको विजय र नेपाली सेनाको वीरताको गाथा बोकेको छ । बेलायती सेनाले नेपाली सेनाको पराजयपछि पनि उनीहरूको वीरताको प्रशंसा गरेका थिए । दुई सय वर्ष पहिले यहाँ भिषण युद्ध भए पनि अहिले यो स्थान शान्त छ ।

इतिहासकारहरूका अनुसार सन् १८१४ को अक्टुबरमा भएको नालापानी युद्धमा करिव ३ हजार ५ सय बेलायती सेनाले तोप र गोलावारुदका साथ नेपाली सेनामाथि आक्रमण गरेका थिए । यो युद्धमा मेजर जनरल राबर्ट रालो जिलेस्पीसहित ८ सय बेलायती सेना मारिएका थिए । भनिन्छ महिला र बालबालिकासहितको करिव ६ सय नेपाली सेनाले बेलायती सेनासंग खुकुरी, धनुष कांण र ढुंगामुढाले सामना गर्दै ३ पटक पछाडि हट्न वाध्य पारेका थिए । इतिहासकारहरूका अनुसार त्यसपछि बेलायती सेनाले खलंगा किल्लाको खानेपानी आपुर्ती बन्द गरिदिएका थिए ।

पानी बन्द भएपछि नेपाली सेनाका प्रमुख बलभद्र कुँवरले आफ्नो इच्छाले नालापानी छोडने घोषणा गरेका थिए । उनी बचेका ७० सेनाकासाथ त्यहाँबाट निश्केर हिडेको बताइन्छ ।

यो युद्धपछि तत्कालिन इष्ट इन्डिया कम्पनीको सरकारले सो स्थानमा आफ्ना जनरल जिलेस्पी र बलभद्र कुँवरको सम्झनामा दुईवटा स्मारक बनाए । जहाँ बलभद्रलाई ‘वीर दुस्मन’ भनेर सम्वोधन गरियो । बलभद्र विकास समितिका अध्यक्ष भारतीय सेनाका पूर्वकर्णेल सिबी थापा भन्छन् ‘त्यही बेला बलभद्रको बहादुरीका कारण मानिसहरूले नेपाली सेनाको वीरतालाई माने । त्यसै कारण बलभद्रसहितको नेपाली सेनाको वीरतालाई देखेर बेलायतले सन् १८१५ देखि आफ्नो सेनामा पनि गोरखा रेजिमेण्टको सुरुवात गरेका हुन् ।’

देहरादुनमा बलभद्रको स्मारकमा बलभद्र थापा लेखिएको छ । नेपाली इतिहासकार यो लेखाई गल्ती भएको बताउँछन् । ‘नालापानीका नायक’ नामक पुस्तकका लेखक तथा त्रिभुवन विश्वविद्यालयका संस्कृती तथा पुरातत्व विभाग प्रमुख धनबहादुर कुँवर भन्छन् ‘बलभद्रका बुबा चन्द्रवीर कुँवर सेनापति थिए । चन्द्रवीरको मृत्युपछि बलभद्रका मावली हजुरबुवा अमरसिंह थापाले दरवारमा पत्र लेखेर उनलाई सेनामा कप्तान पदका लागि सिफारिस गरेका थिए । त्यसपछि दरबारले उनलाई सन् १८१३ मा नालापनीको जिम्मेवारी दिएको थियो ।’ इतिहासकार कुँवर भन्छन् ‘नालापानीको युद्धपछि सन् १८२४ मा अफगानिस्तानका राजा रणजित सिंहको सेनाका पक्षमा लड्दा बलभद्र मारिए ।’

कतिपय मानिसले बलभद्रलाई ‘भाडाको सिपाही’ भनेर होच्याउने पनि गरेका छन् । किनभने उनी आफ्नो देश छाडेर अफगानिस्तानमा लड्न गएका थिए । बलभद्रलाई नेपालमा मात्र होइन देहरादुनलगायत भारतमा बस्ने नेपाली भाषी समुदाय आज पनि आफ्नो गर्व र परिचयकोरुपमा लिने गर्छन् ।

देहरादुन शहरदेखि नजिकै रहेको खलंगा स्मारकलाई भारतीय पुरातत्व विभागले रेखदेख गर्दछ । त्यसको केही पर नालापानी पहाडमा रहेको युद्ध मैदान संरक्षणको पर्खाइमा छ । यो वन क्षेत्र हो । देहरादुनका मानिसले बलभद्रको सम्मानमा एक युद्ध स्मारक निर्माण गरेका छन् तर, त्यो स्मारकको पनि राम्रो रेखदेख हुन सकेको छैन । युद्ध स्मारक जिर्ण अवस्थामा रहेको छ । जबकी पहिले स्मारक बनाउँदा भारत सरकारले ५० लाख दिएको थियो ।

स्थानीयहरू भने यो रकम ट्रेकिङ रुट बनाउन आएको बताउँछन् । ट्रेकिङ रुट बनेपछि मानिसको यो ऐतिहासिक विरासतप्रति जिज्ञासा बढने र यसलाई पर्यटकिय स्थल बनाउन सकिने बताइन्छ । समितिका अध्यक्ष कर्णेल सीवी थापा भन्छन् ‘जुन स्थानमा सन् १८१४ मा जनरल जिलेस्पी ढलेका थिए, सो स्थानमा उनको शालिक बनाउने हो भने यसबाट बेलायती सरकारको पनि सहयोग पाउन सकिन्थ्यो । यसले यो स्थानलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न सकिन्थ्यो ।’

नेपाली सेनाका इतिहासका लेखक सहायक रथी प्रेमसिंह बस्नेत भन्छन् ‘अंग्रेजसंग भएको नालापानी युद्धमा किल्लालाई बलियो बनाउन बलभद्रले महत्वपूर्ण भूमिका निभाएका थिए ।’ अग्लो पहाडमा काठ र ढुंगाले यो किल्ला बनाइएको उनले बताए । नालापानीको रक्षाका लागि बलभद्रले त्यहाँ पुग्नासाथ किल्लाको कमजोर स्थिती देखेर सेनाका पत्नी, बालबालिकासमेतको सहयोगमा दिनरात गरेर बलियो बनाएका थिए । अंग्रेजले दशैंको समयमा एक्कासी आक्रमण गरेका थिए, यसले गर्दा नेपाली सेनाले किल्ला बाहिर १२ फिट अग्लो पर्खाल खडा गरेका थिए ।

यो ठाउँको संरक्षणका लागि यहाँ बस्ने नेपाली भाषी समुदायले आफ्नो पुर्खाको इतिहास जोगाउन नेपाली अधिकारीहरूसंग पनि आग्रह गरेका छन् । लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल र प्रधानसेनापति छत्रमानसिंह गुरुङले सो स्थानको भ्रमण गरेको बताइन्छ । हरेक वर्ष कात्तिकमा यहाँ ठूलो मेला लाग्ने गर्छ । यसको आयोजक नेपाली भाषी समुदायकै मानिस हुने गरेका छन् । मेलामा नेपाली गित, संगीतका साथै नेपाली संस्कृती झल्कने सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिन्छ । (विविसि हिन्दी फिचरमा आधारित)