एजेन्सी । हातखुट्टा बाँधेर जादु देखाउन भन्दै नदीमा छिरेका एक जादुगर बेपत्ता भएका छन् । भारत पश्चिम बंगालको कोलकातास्थित हूग्ली नदीमा छिरेका प्रख्यात जादुगर चञ्चल लाहिरी हराएका हुन् ।

उनको मृत्यु भएको आशङ्का गरिएको बीबीसीले जनाएको छ । मानिसहरु उनी नदीमा छिरेको हेर्न जम्मा भएका थिए । तर जादुगर नै पानीभित्र वेपत्ता भएपछि उनीहरुले प्रहरीलाई बोलाएका थिए । ६ वटा ताला लगाइएको साङ्लोले खुट्टा बाँधिएका उनलाई एउटा डुंगामार्फत नदीमा खसालिएको थियो । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरी र गोताखोरहरूले नदीमा आइतवार साँझ खोजी गरेका थिए । तर लाहिरी भेटिएनन् । शव नभेटिएसम्म उनलाई मृत घोषणा गर्न नसकिने एक अधिकारीले बताएका छन् ।

एउटा स्थानीय पत्रिकाका लागि फोटो खिच्ने जयन्त श पनि लाहिरीको जादु हेर्न गएका थिए । जादुको काम सुरु हुनुभन्दा अगाडि आफूले लाहिरीसँग कुरा गरेको उनले बीबीसीलाई बताए । उनी भन्छन् “मैले किन ज्यान जोखिममा पारेर जादु देखाउन लागेको भनेर सोधेको थिएँ । उनी हाँसे र भने मैले राम्ररी गरे भनेँ यो जादु हुन्छ। मैले गल्ती गरेँ भने यो दुस्खान्त हुन्छ।”

ती जादुगरले मानिसहरूमा “जादुप्रति रुचि जगाउन“ त्यसो गर्न खोजेको शलाई बताएका थिए । पानीभित्र जोखिमपूर्ण जादु देखाउने यो उनको पहिलो प्रयास भने थिएन । बीस वर्षअघि एउटा सिसाको बाकसमा राखेर उनलाई पानीभित्र छोडिएको थियो। त्यतिबेला उनी सकुशल बाहिर आएका थिए।