एजेन्सी । इटालीको एक अदालतले जानिजानी ३० जना महिलामा एचआइभी संक्रमण फैलाएको आरोपमा एचआइभी संक्रमित भ्यालेन्टिनो तालुतोलाई २४ वर्षको जेल सजाय सुनाएको छ ।

३३ वर्षका तालुतोलाई आफू एचआइभी संक्रमित रहेको थाहा हुँदाहुँदै पनि ५३ जना महिलासँग असुरक्षित यौनसम्पर्क गरेको र त्यसमध्ये ३० जना महिला एचआइभी संक्रमित भएको आरोपमा जेल सजाय सुनाइएको हो ।

पेशाले एकाउन्टेन्ट रहेका तालुतो सन् २००६ मा नै एचआइभी संक्रमित भएका थिए । त्यसपछि उनले ५३ जना महिलासँग यौन सम्बन्ध राखेको अदालती बयानमा बताएका छन् । यौन सम्बन्धका बेला महिलाहरुले सुरक्षा सामाग्री प्रयोग गर्न आग्रह गर्दा तालुतोले त्यस्ता सामाग्रीले आफूलाई एलर्जी हुने र केही समयअघि मात्रै आफूले एचआइभी परीक्षण गराएको बताउँदै आएको समाचार संस्था एएफपीले जनाएको छ ।

केही महिलाले आफूमा एचआइभी संक्रमण भएको थाहा पाएपछि तालुतोसँग सोध्दा उनले आफू एचआइभी संक्रमित रहेको कुरा अस्वीकार गर्ने गरेका थिए । तालुतोले यौन सम्बन्धका लागि महिलाको खोजी गर्न सामाजिक सञ्जाल तथा डेटिङ साइटमा ‘हार्टी स्टाइल’ नाम प्रयोग गर्ने गरेका थिए । तालुतोका वकिलले उनको कार्य लापरवाहीपूर्ण भएपनि जानिबुझी भने नगरेको दाबी गर्दै आएका छन् ।