१३ असाेज, काठमाडाैं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रु ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ७३० निर्धारण गरिएको छ ।

khasi-boka

उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रु १० सहुलियत दिई उक्त मूल्य निर्धारण गरिएको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिए । कम्पनीले आजदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति बाग्मती अञ्चल कार्यालय (सदन धान गोदाम)बाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री शुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयको समन्वयमा ती खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरिएको हो ।

सरकारले दशैँका समयमा उपभोक्तालाई थाेरै भए पनि राहत दिन विगतमा झै यसपटक पनि खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरेको हो । सरकारी मूल्य निर्धारणले बजारमा मूल्य हस्तक्षेप गर्न सहयोग मिल्ने उनले बताए । यसवर्षका लागि कम्पनीले काठमाडौँ उपत्यकामा करीब तीन हजारको सङ्ख्यामा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि एक हजार ९२० च्याङ्ग्रा र करिब एक हजार खसी, बोका राजधानी ल्याइँदै छ ।

केही खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ आइसकेका छन् । अरु एक/दुई दिनभित्र ल्याइने महाप्रबन्धक गौचनले जानकारी दिए । कम्पनीले बिक्री गर्ने सहुलियतको खसी, बोका तथा च्याङ्ग्रामा व्यापारीको प्रवेश निषेध गरिएको छ । सम्भव भएसम्म एक परिवारलाई एक खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरिने उनको भनाइ छ । घाटा खाएर उपभोक्तालाई राहत सरकारले खसी, बोका तथा च्याङ्ग्रा बिक्रीमा घाटा खाएर उपभोक्तालाई राहत दिएको छ ।

खरिद मूल्यभन्दा कममा उपभोक्तालाई बिक्री गर्न लागिएको महाप्रबन्धक गौचनले जानकारी दिए । कम्पनीले खसी, बोका ढुवानीबाहेक जीउँदो प्रतिकिलो ५७० र दाङबाट प्रतिकिलो ५३५ मा खरिद गरेको छ । त्यस्तै च्याङ्ग्रा जीउँदो प्रतिकिलो ५६० मा खरिद गरिएको छ । कम्पनीले च्याङ्ग्रा मुस्ताङबाट खरिद गरेर ल्याएको हो । ती च्याङ्ग्रा चार दिन हिँडाएर ल्याएको बताइएको छ । कम्पनीले मुस्ताङबाट एक हजार ९२० च्याङ्ग्रा र मकवानपुर तथा दाङबाट एक हजार खसीबोका खरिद गरेको हो । अहिले राजधानीका अन्य खसी बजारमा जीउँदो खसी बोका ६५० र च्याङ्ग्रा ७५० प्रतिकिलोमा बिक्री भइरहेको छ ।

सम्बन्धित जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको खरिद समितिले गरेको मूल्यका आधारमा ती खसी, बोका तथा च्याङ्ग्रा किसानसँग खरिद गरिएको कम्पनीले जनाएको छ । सरकारले सिधै किसानको गोठबाट खरीद गर्दा उनीहरुले पनि उचित मूल्य पाएको कम्पनीको महाप्रबन्धक गौचनले बताए । सरकारले खरीद गरेको मूल्यका आधारमा नै अन्य किसानले पनि खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरेका छन् । खसी, बोका तथा च्याङ्ग्रा व्यापारीले किसानबाट सस्तोमा खरीद गरेर उपभोक्तालाई महँगोमा बिक्री गर्ने गर्दछन् । जसबाट किसान र उपभोक्ता दुवै मारमा पर्ने गरेका पाइन्छ । रासस