कुशल श्रेष्ठ
‘मौन व्रत’को अक्षरशः अर्थ हुन्छ- ‘नबोली बस्ने वाचा’। आध्यात्मिक विकासको लागि व्यक्तिको बोलीमा शुद्धता छाउनुपर्दछ र शुद्ध बोलीको लागि मौन अभ्यास गर्नु महत्वपूर्ण हुन्छ। हिन्दु धर्मको पवित्र ग्रन्थले पनि यहि उदेश्यको लागि मौनव्रतको प्रशंसा गरेको छ।
हिन्दु पात्रोको पाँचौँ महिना- भदौमा १६ दिनसम्म मौनव्रत बस्नु फाइदाजनक हुने मानिन्छ। व्यक्तिको इच्छा आपूर्ती गर्ने एउटै माध्यम भनेको नीरवता (मौन) बस्नु हो। भनिन्छ, मौन भई ध्यान गर्दा स्वयं भगवान शिवकै दर्शन मिल्दछ।
श्रीमद्भागवत गीतामा भनिएको छ:
“मनको सन्तुष्टि, प्रेमपात्र स्वभाव, धार्मिक चिन्तन र असल विचारले मनको निश्चलतालाई प्रतिबिम्बित गर्दछ।”
मानिसका अनेकौँ गुणहरू हुन्छन् र ती सबैको गुणहरूको बीचमा लुकेर बसेको हुन्छ ‘मौनता’। मस्तिष्कको नियन्त्रणबाट मौनता हासिल गर्न सकिन्छ। अनि जब मस्तिष्क नियन्त्रित हुन्छ, तब ज्ञानको साथ मिल्छ, संसारलाई चिनिन्छ अनि अन्य गुणहरूलाई पनि बुझिन्छ। जब ज्ञान प्राप्ती हुन्छ, तब धेरै बोलीराख्नुपर्ने जरुरी नै हुँदैन, उसको मौनतामा नै स्वयं भगवान प्रस्तुत हुन्छ। उसले आफ्नो लगायत अरूको मनमा समेत शान्त अनि सद्गुण फैलाउन सक्दछ।
चाणक्य नीतिमा भनिएको छ:“जो व्यक्ति एक वर्षसम्म मौन रहेर बस्न सक्छ, ऊ स्वर्गको हजारौँ वर्षसम्मको प्रशंसाको योग्य हुन्छ।”
मौनताले व्यक्तिको व्यक्तित्व परिवर्तन गर्दछ, क्रोध र लालचाको बन्धनबाट मुक्त गराउँदछ। आत्मविश्वास र संकल्पशक्तिले उसको पथप्रदर्शन गर्दछ। उसको मनमा कुनै चिन्ताले बास गर्न सक्दैन, ऊ सँधै शान्त हुन्छ, आफैलाई प्रेम गर्न सिक्दछ। मौनताले मनभित्र ऊर्जाको संरक्षण गर्दछ र सोहि ऊर्जाले व्यक्तिलाई असल मानव बन्ने बाटोतर्फ मार्गदर्शन गराउँदछ।
महाभारतमा मौनतासँग जोडिएको एउटा प्रसङ्ग छ। जब महर्षी वेदव्यासले अन्तिम श्लोकको वाचन गरे र गणेश भगवानले भोजपत्रमा लेखे, तब महर्षी वेदव्यासले भने- “हे वीगनेश्चर! हजुरको अक्षरकला अपरम्पार! स्वयं सर्वोच्च आत्माले (परमभगवान) महाभारत सिर्जना गर्नुभयो र हजुरले त्यसलाई अक्षरमा ढाल्नुभयो। हजुरको अक्षरभन्दा पनि महान् र अजुरको मौनता रहेछ! मैले करीब २० लाख शब्द वाचन गरेँ होला, तर हजुरबाट मैले एक शब्द पनि सुनिनँ!”
जीवनको रूपलाई दियोसँग तुलना गर्न सकिन्छ। कुनै दियोमा थुप्रै तेल हुन्छ भने कुनैमा थोरै। कुनै पनि दियोमा तेलको अनन्त स्रोत हुँदैन। त्यसरी नै, भगवान, मानव र दैत्य कसैको जीवन पनि अनन्त हुँदैन। जसको आत्मा आफ्नो वशमा हुन्छ र धैर्यताको शक्तिलाई बुझ्न सक्छ, उसैले मात्र जीवनरुपको फल चाख्न पाउँछ। अनि आत्मालाई वशमा राख्ने पहिलो चरण भनेकै आफ्नो बोलीलाई वशमा राख्नु हो। आफ्नो बोलीलाई वशमा राख्न नसक्नेहरूले सजिलै आफ्नो व्यक्तित्व गुमाउँदछ, उसको जीवन अर्थहीन हुन्छ। मौनताबाटै व्यक्तिको जीवनमा अर्थको प्रकाश छाउँदछ।