२१ साउन, एजेन्सी । टाइटानिक जहाज निर्माण गर्ने डेढ शतक पुरानो कम्पनी बन्द हुने अवस्थामा पुगेको छ । १ सय ५८ वर्ष पुरानो कम्पनी हार्लेड एण्ड वोल्फ शिपयार्ड बन्द हुन लागेको हो । झण्डै सय वर्ष अघि यस कम्पनीमा ३५ हजार मानिस काम गर्थे ।

तर अहिले जम्मा १ सय २३ जना मात्रै कार्यरत छन् । लगातारको घाटाका कारण कम्पनी बन्द हुने अवस्थामा पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । कम्पनीले टाइटानिक जहाज सन् १९०९ देखि १९११ को बीचमा बनाएको थियो । यसलाई उत्तरी आयरल्याण्डको बेलफास्टमा ३१ मार्च, १९११ मा लन्च गरिएको थियो ।

कम्पनीले दोस्रो विश्व युद्धका दौरान झण्डै १ सय ५० भन्दा धेरै युद्धपोत पनि बनाएको थियो । सन् १९४५ पछि कम्पनीले जहाज निर्माणलाई कम गर्यो । बन्द हुने अघि यो कम्पनी समुन्द्री इन्जिनियरिंग परियोजनामा काम गरिरहेको थियो ।

यो कम्पनी अप्रिल १९१२मा टाइटानिक जहाज आफ्नो पहिलो यात्रामै आइसवर्गसँग ठोक्किएर समुन्द्रमा डुबेपछि चर्चामा आएको हो । टाइटानिक जहाजको भग्नावशेष सन् १९८५ सेप्टेम्बर १ मा भेटिएको थियो ।