२७ कात्तिक, काठमाडौं ।

गोलकिपर किरण चेम्जोङको शानदार प्रदर्शनका कारण टाइब्रेकरमा लाओसलाई ३–० ले पराजित गर्दै नेपाल एएफसी सोलिडारिटी कपको फाइनलमा प्रवेश गरेको छ।

मलेसियाको कोचिङमा शनिवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको खेल २–२ गोलको बराबरीमा टुँगिएपछि टाइब्रेकरको सहयोग लिइएको थियो।

nepal-vs-laos

जसमा नेपालका गोलकिपर किरणले लाओसका २ खेलाडीको पेनाल्टी रोक्दै नेपाललाई नाटकीय जीत दिलाएका छन। नेपालका लागि हेमन्त गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले आफूले हानेको पेनाल्टीलाई गोलमा परिणत गरे।

लाओसका दुई खेलाडीको पेनाल्टी किरणले रोकेपछि तेस्रो पेनाल्टी प्रहार गर्न आएका खेलाडीले गोल पोस्टभन्दा बाहिर पेनाल्टी प्रहार गरेका थिए।

ब्रुनाईलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल तय गरेको नेपाली टोली आत्मविश्वासले भरिए पनि कमजोर पूर्वी टिमोरसँग गोलरहित बराबरी खेल्दा नेपाली टिममा प्रशस्तै सुधारको खाँचो देखिएको थियो ।