११ माघ, काठमाडौं । तामाङ समुदायले नयाँ वर्षका रुपमा सोनाम ल्होछार २८५६ आज भव्यरुप मनाएको छ । हरेक वर्ष माघ शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्षारम्भका रुपमा तामाङ जातिले यस पर्वलाई मनाउने गर्दछन् । यस पर्वले तामाङ समुदायको परम्परागत संस्कृतिको संरक्षण र सम्वद्र्धनमा योगदान पु¥याउँदै आएको छ । बाग्मती प्रदेशका १३ जिल्लामा तामाङ समुदायको बाहुल्यता रहेको पाइन्छ ।

यसैबीच मुलुकका विभिन्न जिल्लाबाट काठमाडाैं आएर विभिन्न पेशा व्यवसायमा संलग्न तामाङ समुदाय नयाँ वर्षका उपलक्ष्यमा टुँडिखेलमा आयोजित सांस्कृतिक महोत्सवमा सहभागी भएका छन् । सो अवसरमा आयोजित कार्यक्रममा तामाङ समुदायका युवा नेता एवं सांसद प्रेम तामाङ, तामाङ समुदायका अगुवा राजनीतिज्ञ कमानसिंह तामाङ, पर्शुराम तामाङलगायतले आफ्नो समुदायले उठाएका मुद्दालाई सरकार र प्रमुख राजनीतिक दलबाटै सम्बोधन गर्न कञ्जुस्याइँ गरेको भनी गुनासो गरे ।

तामाङ जातिको मात्र नभई स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जातिको चाडका रुपमा रहेको सोनाम ल्होछार पर्वलाई सरकारले बेवास्ता गरेका भनी सो अवसरमा उनीहरुले दुखेसो व्यक्त गरे । महोत्सवमा तामाङ समुदायको संस्कृति, वेषभूषा झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । महोत्सवमा उक्त समुदायको परिचय गराउने १०० भन्दाबढी खानापिनका कक्ष सञ्चालन गरिएको थियो । महोत्सवमा तामाङ समुदायका युवायुवतीको ठूलो सङ्ख्यामा सहभागिता देखिन्थ्यो । रासस