काठमाडौँ, २२ चैत : घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ ।

नेपाली सेनाले घोडेजात्राका अवसरमा हरेक वर्ष सो स्थानमा अश्वकलाका विविध क्षेत्रलाई समावेश हुने गरी आकर्षक कला प्रदर्शनी कार्यक्रम आयोजना गर्दै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरेका थिए ।

घोडेजात्रा काठमाडौँ उपत्यकामा मात्र मनाइन्छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँशीका दिन टुँडिखेलमा घोडेजात्रा देखाइन्छ । सो अवसरमा राष्ट्रपति भण्डारीले घोडेजात्राअन्तर्गत भएका म्युजिकल राइड प्रतियोगितामा प्रथम भएका सहसेनानी राजेश श्रेष्ठ र द्धितीय स्थान प्राप्त गर्ने सहसेनानी अजयजङ्ग सुवेदीलाई पुरस्कार प्रदान गरिन्। यसैगरी उनले शो जम्पमा प्रथम र द्धितीय स्थान प्राप्त गर्ने क्रमशः ओमप्रसाद यादव र जगदिश घिसिङलाई पनि पुरस्कार प्रदान गरिन् ।

कार्यक्रममा तालीम प्राप्त कुकुरले प्राथमिक उपचार, कुहिने र नकुहिने फोहर सङ्कलनको गरेको दृश्य आकर्षक रहेको थियो । राष्ट्रपति भण्डारी कार्यक्रमस्थल आई पुग्दा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । (हेर्नुस् घाेडेजात्रा मनाइएका केही तस्विर )

घोडेजात्राको अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा अश्वकला प्रस्तुत गर्दै नेपाली सेनाका जवान ।
घोडेजात्रा २०७५ को अवसरमा सैनीकमञ्च टुडीखेलमा नेपाली सेनाका जवानबाट घोडचढी कला प्रस्तुत गर्दै ।
घोडेजात्रा २०७५को अवसरमा सैनीकमञ्च टुडीखेलमा नेपाली सेनाका जवानवाट घोडचढी कला प्रस्तुत गर्दै ।
घोडेजात्रा २०७५ को अवसरमा सैनीकमञ्च टुडीखेलमा नेपाली सेनाका जवान तालीम प्राप्त कुकुरहरुको कला प्रस्तुत गर्दै ।
घोडेजात्रा २०७५को अवसरमा सैनीकमञ्च टुडीखेलमा नेपाली सेनाका जवानबाट घोडचढी कला प्रस्तुत गर्दै ।
घोडेजात्रा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधान सेनापति पूर्णचन्द्र थापालगायत घोडेजात्राका अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा ।

तस्बिरहरु : प्रदीपराज वन्त,रासस